डडेल्धुरामा महिला नेतृत्व मञ्च गठन
धनबहादुर भण्डारी, डडेल्धराः डडेल्धुराका स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताका लागि महिला नेतृत्व मञ्च गठन गरिएको छ। जिल्ला दुई स्थानीय तहमा करिब चारसय बढी नेतृ महिलाको नेतृत्व विकास गर्नका लागि महिला नेतृत्व मञ्च गठन गरिएको हो।
स्थानीय तहमा महिला जनप्रतिनिधि कोटामा मात्रै नभई मूल नेतृत्वमा र अर्थपूर्ण सहभागिताका लागि जिल्लाका अगुवा महिलाहरुको संलग्नतामा नेतृत्व मञ्च गठन गर्न थालिएको रुडेस बैतडीले जनाएको छ। अबका दिनमा हुने चुनावमा महिला नेतृको अर्थपूर्ण सहभागिता बढाउन अमरगढी नगरपालिका र गन्यापधुुरा गाउँपालिकामा महिला नेतृत्व मञ्च गठन गरी उनीहरुको नेतृत्व बलियो र क्षमतावान बनाउने क्रियाकलाप थालेको फिल्ड अधिकृत चन्द्रा शर्मा भट्टले बताइन्। सोमवार अमरगढी नगरपालिकाका महिला जनप्रतिनिधि र अन्य सरोकारवाला समूहको नेतृत्वमा मञ्च गठन गरिएको उनले बताइन्।
स्थानीय तहका राजनीतिक दलमा आवद्ध महिलाहरुको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम गरिँदै छ। स्थानीय तहको सम्पूर्ण शासन प्रक्रियामा महिला नेतृहरुको अर्थपूर्ण सहभागिताका लागि सहज वातावरण निर्माण गरिने रुडेस बैतडीका गोविन्दराज जोशीले बताए।