डडेल्धुराका ४ सय नेतृको नेतृत्व विकास गरिने
डडेल्धरा: डडेल्धुराका स्थानीय तहमा रहेका ४ सय बढी नेतृको नेतृत्व विकास गरिने भएको छ। स्थानीय तहका राजनीतिक दलमा आवद्ध महिलाहरुको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम गरिने भएको हो। राजनीतिक शासन प्रक्रियामा संलग्न हुन महिला नेतृत्वको आत्मविश्वास बढाउनुका साथै क्षमता विकासमा सुधार ल्याउन गैर सरकारी संस्था ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज(रुडेस) बैतडीले उक्त कार्यक्रम गर्ने भएको हो। डडेल्धुराका दुई स्थानीय तहका महिला जनप्रतिनिधि र राजनीतिक दलसँग आवद्ध महिलाको क्षमता विकास गर्ने रुडेसले जनाएको छ।
यसका साथै विभिन्न सञ्जाल तथा समूहमा महिलाहरुको अर्थपूर्ण सहभागिता वृद्धि गर्ने, लैंगिक भेदभावपूर्ण सामाजिक मान्यताहरु र हानिकारक अभ्यासहरु न्यूनिकरणका लागि महिला तथा पुरुषहरुको समझदारी कायम गर्ने उद्देश्य रहको संस्थाका गोविन्दराज जोशीले बताए।
जिल्लाको गन्यापधुरा र अमरगढी नगरपालिकाका करिब ४ सय महिलाको नेतृत्व विकासका लाग विविध कार्यक्रम सञ्चालन गरिएको रुडेसले जनाएको छ। त्यस्तै बैतडीका दुई स्थानीय तह पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका हजारभन्दा बढी महिला नेतृहरुको क्षमता विकास गरिने फिल्ड अधिकृत चन्द्रा शर्मा भट्टले जानकारी दिइन्।