धनगढीको ६ लेन सडकमा फुटपाथ निर्माण गर्दा कमसल सामग्रीको प्रयोग
धनगढी : सम्झौताअनुसार दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने मोहनापुल–अत्तरिया ६ लेन सडक साढे चार वर्षमा पनि सकिएको छैन। सडक कालोपत्रे भए पनि फुटपाथ र सर्भिस लेन नबन्दा यात्रु मर्कामा छन्। रेलिङ लगाउने, रंगरोगन गर्ने, ट्राफिक संकेतहरू राख्नेलगायतका काम पूरा भएका छैनन्।
अहिले निर्माण थालिएको फुटपाथमा कमसल निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध जनाएका छन्। फुटपाथमा राख्न थालिएको ब्लकभित्र माटैमाटो रहेको तथा कामै नलाग्ने रहेको उनीहरले बताएका छन्। ‘भित्र पुरै माटैमाटो छ। अहिले नै टुटीरहेको छ। यो ब्लक कामै नलाग्ने छ,’ एक स्थानीयले भने। अहिले ६ लेन सडकको पहिलो खण्डमा फुटपाथमा ब्लक राख्ने काम भइरहेको छ। स्थानीय अमरबहादुर बोहराले भने, ‘आफैँ टुट्ने कस्तो ब्लक रहेछ भनेर हेयौँ त भित्र पुरै माटो छ। हातले भाँचे पनि टुटीरहेको छ।’
समयमै काम सम्पन्न नभएपछि अहिले सडक निर्माणका लागि चौथोपटक म्याद थप भएको छ। सरकारले कोरोनाले प्रभावित आयोजनाहरूको म्याद थप गर्ने निर्णयअनुसार ६ लेन सडकको अवधि आगामी चैत मसान्तसम्म थप गरिएको हो। तर फुटपाथ निर्माणमा कमसल निर्माण सामाग्रीको प्रयोग भएको भन्दै स्थानीयले निर्माण कार्य नै गर्न दिएका छैनन्।
जाँच गरेरै ब्लक लगाउने गरे पनि केही ब्लकमा त्यस्तो देखिएको हुनसक्ने निर्माणको जिम्मा पाएको शर्मा अमर नागार्जुन जेभीका प्रतिनिधि नविन देभको भनाई छ। उनले भने, ‘जाँच गरेरै हामीले ब्लक लगाइरहेका छौँ। कुनैमा क्युरिङ नपुगेर भाँचीएको हुन सक्छ। त्यसलाई परिवर्तन गछौँ।’ योजना कार्यालय नजिकै निर्माण भइरहे पनि योजना कार्यालयको ध्यान भने जान नसकेको स्थानीयको गुनासो छ।
तर योजना कार्यालय धनगढीले भने कमसल निर्माण सामाग्री प्रयोग भए जाँच गरेर नयाँ ब्लग प्रयोग गरिने जनाएको छ।
मोहनापुल अत्तरिया सडक योजना कार्यालय धनगढीका सब इञ्जिनीय भुवन खड्काले कमसल समाग्री प्रयोग भए जाँच गरिने बताए। उनले भने, ‘पटकपटक साइड हेर्न गइरहेका त हुँन्छौँ त्यस्तो भेटीएन्। तर त्यस्तो नै छ भने जुनजुन ठाउँमा कमसल ब्लक प्रयोग भएको छ। सबै ठाउँमा हेरेर जाँच गर्छौँ।’