धनगढीमा निर्माणाधीन सडकको गति सुस्त, पुसमा पनि हिलाम्य
धनगढीः धनगढीको हसनपुरदेखि जाई जोड्ने लब्ली चोकको अवस्था दयनीय छ। सडकमा पानी जम्दा आवतजावतमा समस्या भइरहेको छ, भने दुर्घटनाको जोखिम त्यत्तिकै बढेको छ। उक्त सडकमा अटो रिक्सादेखि ठूला गाडीहरु गुड्ने गरेका छन्। तर सडक हिलाम्य हुँदा बजार आउने तथा बजारबाट फर्कने यात्रुहरुले सास्ती खेप्नु परेको स्थानीय माया चन्दले बताइन्। सडकमा पानी भरिएर हिलाम्य हुँदा आवतजावत गर्नै मुस्किल भइरहेको उनले बताइन्। ‘बाटो चिप्लो छ। साना ठुला गाडी यहि सडकमा चल्छन्। दुवै तर्फबाट गाडी आए हिँड्ने ठाउँ नै हुँदैन। बालबच्चाहरुलाई त झन समस्या भइरहेको छ’ उनले भनिन्।
सडकको पानी निकास हुने ठाउँ नहुँदा पानी भरिएको अर्की स्थानीय पार्वती चन्दले बताइन्। नालाको फोहोर पानी गाडीले उछिट्याउँदा शरीरमा आउने उनले गुनासो गरिन्। निर्माण व्यवसायीको लापरबाही तथा सम्बन्धित निकायको बेवास्ताका कारण दुःख पाइरहेको गुनासो स्थानीयको छ। रातिको समयमा त दुर्घटनाको जोखिम समेत बढेको सवारी चालक धनराज आउजी बताउँछन्। ‘सडकमा भरिएको पानीले समस्या भइरहेको छ। यो सम्बन्धित निकायको वेवास्ता हो। निर्माण कम्पनीको लापरबाही छ’ उनले भने।
संघीय सरकारको क्षेत्रीय शहरी विकास आयोजनामार्फत अहिले धनगढीमा ७ वटा सडक निर्माण भइरहेका छन्। एशियाली विकास बैंकको ऋण लगानीमा कार्यान्वयनको चरणमा रहेको क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका निर्माणाधीन ती अधिकांश सडकको अवस्था दयनीय बनेको छ।
तर निर्माण कम्पनीले भने स्थानीयको विवादका कारण काम गर्न नसकिरहेको बताएको छ। सडकको पानी निकासका लागि अर्को ठाउँतिर लगाउँदा सो ठाउँका स्थानीयले विवाद गर्ने गरेको निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाश चन्द्र खरेलले बताए।
‘पटक–पटक निर्माण सामग्री लिएर काम गर्न जाँदा स्थानीयले विवाद गरिरहेका हुन्छन्। अर्कोतिर सडक निर्माणको सम्झौताको डकुमेन्टमा निर्माण हुने क्षेत्रमा खानेपानीको पाइपलाइन देखाइएको छैन। नक्सामा खानेपानीको पाइपलाई न देखाइएको हुँदा पनि समस्या भइरहेको छ’ उनले भने, ‘सामग्रीसहित काम गर्दा मेशिनले पाइप टुट्ने हुँदा पनि पानी लिक भएको हो।’ उपमहानगरपालिका तथा वडाले पहल गरिदिए काम गर्न सहज हुने उनले बताए।
उता क्षेत्रिय शहरी विकास आयोजना धनगढीका इन्जिनियर द्रोण कटुवालले भने समयमै ती समस्या समाधान गरिने बताए। ‘खानेपानीको पाइपलाइन र घरबाट आएको फोहोर पानी सडकमा आएर जम्मा भएको हो। हामी निकासका लागि समन्वय गरिरहेका छौँ’ उनले भने।