नेप्सेमा उच्च अङ्कको सुधार
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ६३.०१ अङ्कले उकालो लागेर दुई हजार ६७९.९५ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.८५ अङ्कले बढेर ५०३.७२ मा पुगेको छ। आज कारोबार भएकामध्ये १६६ कम्पनीको शेयर उकालो लाग्दा २१ कम्पनीको भने ओरालो लागेको छ। यस्तै, तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। कूल २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर चार अर्ब ३२ करोड दुई लाख ६९ हजार ८२७ मूल्यमा खरिद बिक्री भए। आजको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ८५ अर्ब ५९ करोड २० लाख ९६ हजार ६३३ बराबर पुगेको छ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आयो भने ११ उपसमूहको शेयर मूल्य उकालो लाग्यो। उत्पादन ४२.७१ र अन्य उपसमूह ६.७० अङ्कले ओरालो लाग्यो। कारोबारका आधारमा बैंकिङ ६३.६७, विकास बैंक २३२.४१, वित्त ७९.०१, होटल तथा पर्यटन ६४.०९, जलविद्युत् ८७.५४, लगानी २.५४, जीवन बीमा १६०.५२, लघुवित्त ९१.५१, सामूहिक लगानी कोष ०.२६ र व्यापार ५६.०५ अङ्कले उकालो लागेका छन्।
कारोबारका आधारमा नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा छ। सो बैंकको १४ करोड ७७ लाख ५४ हजार ५५० बराबरको कारोबार भयो। यस्तै, नबिल बैंक १३ करोड नौ लाख ६९ हजार, अपि पावर कम्पनी ११ करोड सात लाख ६८ हजार १२५, हिमालयन डिस्टिलरी १० करोड ६० लाख २३ हजार २२६ र माथिल्लो तामाकोशी रु १० करोड ३८ लाख ५३ हजार ८३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।
नेप्सेका अनुसार श्री इन्भेस्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो भने मध्य भोटेकोशीको शेयर मूल्यमा ९.९९ प्रतिशतले सुधार आयो। नेपाल एसबिआई बैंक ९.७२ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.४३ प्रतिशतले कमाए।
त्यस्तै, कृषि विकास बैंकको ऋणपत्र १.९६, नबिल बैंकको ऋणपत्र १.९१, आइसिएफसी फाइनान्सको ऋणपत्र १.८६, नबिल बैंक १.५८ र बोटलर्स नेपाल तराईका शेयरधनीले १.४३ प्रतिशतले गुमाए।