डोटीमा किसान समूहलाई हाते ट्र्याक्टर वितरण
डोटी: किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले यहाँको शिखर नगरपालिकामा हाते ट्याक्टर वितरण गरेको छ। मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले नगरपालिकाका पाँच वटा कृषक समूहलाई निःशुल्क रूपमा हाते ट्याक्टर वितरण गरेको हो।
साइन नेपालद्वारा सञ्चालित केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत किसानको आयआर्जनमा वृद्धि गर्ने र व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए।नगरपालिकाको सिफारिसमा भागेश्वर किसान समूह, रानीढुङ्गा, तल्लिसैन, कैलपाल र डडिया किसान समूहलाई ती हाते ट्र्याक्टर उपलब्ध गराएको साइन नेपालका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए।
ट्र्याक्टर पाएपछि आफूहरुको कामको बोझ घट्ने र आयआर्जनमा वृद्धि हुने भागेश्वर किसान समूहका अध्यक्ष राधिका शाहीले बताए। उनले भने, “गोरुबाट खेती किसानीको काम गर्दा समय बढी लाग्ने र दुःख पनि बढी थियो, अहिले हाते ट्र्याक्टर पाउँदा किसानलाई कामको बोझमा पनि कमी र छिटोछरितो काम हुने छ।”समूहगतमा वितरण गरिएका ट्र्याक्टरको समुदायमा सही सदुपयोग भएमा आवश्यकता अनुसार अझ थप्न सकिने संस्थाले जनाएको छ। उक्त संस्थाले जिल्लामा शिक्षा, स्वास्थ्य, पोषण, आयआर्जन, सीपमूलक तालिमलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ।
यसैगरी जाडो बढ्दै गएपछि उक्त संस्थाले नगरपालिकाभित्र बसोबास गर्ने विपन्न, एकल महिला तथा वृद्धवृद्धा गरी करिब ३०० जनालाई कम्मल वितरण गरेको छ।