बझाङमा राष्ट्रिय योजना आयोगको टोली
बझाङः दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाहरूको स्थलगत अवलोकन गरी संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ पुगेको छ। टोलीले जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामहरूलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस भन्ने उद्देश्यले स्थलगत अवलोकन गरेको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले बझाङका जनतालाई प्रत्येक्ष फाइदा पुग्ने विकास निर्माणका योजनाहरूलाई संकलन गरी सरकारले अगामी दिनमा बनाउने योजनाहरूमा समेटिने बताए। गत कात्तिक १ गतेदेखि तीनदिनसम्म आएको बेमौसमी वर्षा र बाढीका कारण जिल्लामा मानवीय क्षति हुनुका साथै ठूलो जनधनको क्षति विभिन्न सरकारी संरचनाको क्षति भएको थियो।
भौगोलिक रुपमा अतिविकट रहेका बझाङमा ठूला विकास निर्माणका कार्यहरू समेत सुचारु हुन नसकेकाले अगामी दिनमा यहाँबाट संकलन गरिएका योजनाहरूले प्राथमिकता पाउनुपर्ने स्थानीयहरूले सुझाव दिएका छन्। चीनलाई जोड्ने नेपालको सबैभन्दा छोटो मार्गको रूपमा रहेको ताक्लाकोट नाकालाई समेत खोल्न सरकारको ध्यानार्कषण हुनुपर्ने नेपाली कांग्रेसका सभापति खड्कबहादुर बोहराले बताए।