दार्चुलाको महाकाली नगरपालिकाले बालविकास शिक्षकको बढेको तलब माघबाट दिने
धनगढी : दार्चुलाको महाकाली नगरपालिकाले बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई बढेको तलब दिने भएको छ। नगरपालिकाको शनिबार बसेको नवौँ नगरसभाले बालविकास शिक्षक र विद्यालय कर्मचारीका लागि सरकारले तोकेको मासिक १५ हजार रुपैयाँ तलब माघबाट दिने निर्णय गरेको हो।
सरकारले बालविकास शिक्षकलाई विगतमा मासिक ६ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउँदै आइएकामा आर्थिक वर्ष २०७८/०७९ को बजेटमा उक्त पारिश्रमिक वृद्धि गर्दै १५ हजार पुर्याउने घोषणा गरेको थियो। तर तलब बढाउने निर्णय कार्यान्वयन नगरेको उक्त नगरपालिकाले शिक्षकहरुको निरन्तर आन्दोलनपछि नगरसभामार्फत बढेको तलब दिने निर्णय पारित गरेको हो।
नगरपालिकाभित्र सबै सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारी ११२ जना रहेका छन्। अब उनीहरु माघ १ गतेदेखि मासिक १५ हजारका दरले तलब पाउने भएका छन्। यसअघि जिल्लाको नौगाड, अपिहिमाल, मार्मा र लेकम गाउँपालिकाले बढेको तलब दिने निर्णय गरिसकेको छ।