डोटीको घोलतडागाउँ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
धनगढी : डोटीको एक बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ घोलतडागाउँको पूरै बस्तीलाई शनिबार सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो। उक्त बस्ती जिल्लाभरिकै पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएको बताइएको छ।
बस्तीका ७८ घरधुरीमा शौचालय निर्माण र मिटरसहितका शुद्ध खानेपानीका धारा जडान गरिएको वडाध्यक्ष मदन भण्डारीले बताए। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफ नेपाल र गैरसरकारी संस्था निड्स नेपालको समन्वय र सहकार्यमा उक्त गाउँलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको निड्स नेपालका दीर्घराज ओझाले बताए।
केही महिनाअघि ‘एक घर एक धारा’ निर्माण गरेर पानीमा शुद्धताको परीक्षण गरी जिल्लाका सरोकारवाला निकाय एवं पालिकाले अनुगमन गरेका थिए। उक्त गाउँलाई खुला दिसामुक्त क्षेत्रसमेत घोषणा गरिएको छ।