मुक्तकमलरीको पढाइलाई १५ लाख विनियोजन
दाङ : दाङको लमहीस्थित मुक्तकमलरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले १५ लाख बजेटको व्यवस्थापन गरेको छ। यसअघि सरकारले छात्रवृत्ति व्यवस्था नगर्दा मुक्तकमलरीको पठनपाठनमा समस्या हुने गरेको थियो।
अहिले लुम्बिनी प्रदेश सरकारले सो बजेट व्यवस्था गरेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले बताए। यसअघि सरकारले दिँदै आएको छात्रवृत्ति कटौती गर्दा विद्यार्थीलाई पढाइ छोड्ने अवस्था आएको थियो।
तीनै तहको सरकारबीचमा समन्वय नहुँदा यस्तो समस्या आएको थारु अगुवा माधवराज चौधरीले बताए। अब भने प्रदेश सरकारले बजेट छुट्याएपछि केही सहज हुने उनको भनाइ थियो। अहिले सोही छात्रवासमा ४६ पूर्वकम्लरीले अध्ययन गरिरहेका छन्।