सुदूर नेपाललाई विश्वसँग जोड्दै

अव्यवस्थित पार्किङले अस्तव्यस्त धनगढी

२०७८ पुष १६, ०७:४८ विन्दु चन्द

धनगढी : अव्यवस्थित सवारी पार्किङले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी अस्तव्यस्त बन्दै गएको छ। धनगढीदेखि अत्तरिया जोड्ने ६ लेन सडक र मुख्य सडकमा जथाभावी पार्किङ गर्ने समस्या कायमै रहेको हो। जसका कारण आवतजावतमा सास्ती बढेको छ।

धनगढीको ट्राफिक चौराहा त झन बसपार्क जस्तै बनेको छ। त्यँहा सार्वजनिक सवारी साधन जताततै पार्किङ हुँदा एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ आवतजावतमै सास्ती बढेको धनगढीका एकजना स्थानीय धिरेन्द्र शाहले बताए। जथाभावी हुने पार्किङले समस्या निम्त्याइरहेको उनी बताउँछन्। उनले भने, ‘ट्राफिक प्रहरीको एकदमै कमजोरी छ। जताततै पार्किङ गर्न दिइएको छ। एकअर्काको सिको भएर पनि जथाभावि पार्किङ भइरहेको हो।’

ट्राफिक चौराहसंगै धनगढीका अन्य चोकहरुमा पनि अटो रिक्सादेखि विङ्गर, म्याजिक, हाइस, बस लगायतका सवारी साधनहरु जथाभावी रुपमा पार्किङ गरिएको हुन्छ। चोकचोकमा सवारी रोकेर यात्रु खोज्ने परिपाटीका कारण प्रदेशको मुख्य व्यापारीक केन्द्र अस्तव्यस्त देखिन थालेको हो।

अस्तव्यस्त पार्किङका कारण दुर्घटनाको जोखिम बढेको अर्का स्थानीय नथु अछामी बाउँछन्। उनले भने, ‘चौराहा त बसपार्क झैँ छ। हिँडडुल गर्न पनि ठाउँ छैन्। ६ लेनभरि सवारी पार्किङ गरिएको छ। यसले ६ लेन भएको के अर्थ रह्यो।’ सबैभन्दा बढी पैदल यात्रीलाई समस्या हुने गरेको छ। प्रहरीले अटो र मोटरसाइकललाई नै  केन्द्रीत गरेर जरिवाना काट्ने तर पार्क गरिएका ठुला गाडीहरुलाई केही नभन्न्ने गर्दा जथाभावि पार्किङ हुने गरेको उनी बताउँछन्।

६ लेन सडकमा ट्याङ्कर पार्किङ हुँदै आएकोमा अहिले पार्किङस्थल नै बनाएर व्यवस्थापन गरिएको छ। तर अहिले ६ लेन सडकमै ट्रक, बस लगायतका सवारी साधनहरु जथाभावी पार्किङ गर्न थालिएको छ। जथाभावी गरिने पार्किङले सडक तथा चोकहरु अस्तव्यस्त बनाए पनि ट्राफिक प्रहरीले भने हटाउन सकिरहेको छैन। पार्किङ हटाउन खटिएका ट्राफिक प्रहरीको ध्यान मोटरसाइकलमा मात्र केन्द्रीत भएको छ।

बसपार्कबाटै यात्रु झार्ने र चढाउन पहल गरे चौराहाको जाम हट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए। उनले भने, ‘अटो, म्याजिक, हाइस बस लगायतका सबै गाडीहरुले चोकमै यात्रु झार्ने तथा चढाउने गर्दा अलि जाम हुने गरेको छ।’

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस