‘जागिर भनेको भोकै मर्न नदिने र प्रगति पनि गर्न नदिने रहेछ’
धनगढी: धनगढी उपमहानगरपालिका–१८ फुलबारीका किरण अधिकारी द्वन्दकालका कारण एसएलसी पास गरेर पढाईका लागि धरान गएका थिए। धरान जाँदै गर्दा उनको सानो माटोको घर थियो। सानैदेखि पैसाको अभाव भोगेका उनले धरान गएर आइएमइ सेन्टरमा ३ हजारको जागिर गरे। ‘म त गाउँबाट गएको मान्छे मलाई त थाहा नै थिएन यत्रो पैसा यताउता उता चल्छ’, उनी भन्छन्, ‘ बिहान ८ बजे गएर बेलुका ६ बजेसम्म काम गर्नुपर्ने एकछिन आकस्मीक रुपमा पनि बाहिर जान नपाइने अवस्था हुन्थ्यो।’
जागिर नपाउँदासम्म जस्तो काम पनि गर्छु भनेर सोच्ने उनले जागिर लगाउने मान्छेलाई अब काम नसक्ने भनेर छोडिदिए। उनले एउटा जुस कम्पनीमा ४ हजारको जागिर गरे। तर त्यहाँ पनि पहिलो जागिरको जस्तै अत्यधिक काम भएको महसुस उनले गरे। ‘बिहान ८ बजे देखि ६ बजेसम्म अत्यधिक काम गर्नुपर्ने। जागिर मेरो लागि होइन भन्ने कुरा त मलाई थाहा भइसकेको थियो तर पनि जागिर नगरी हुने केही थिएन। त्यसपछि त्यहाँ पनि छोडेर म पोखरा गए त्यति बेलासम्म मेरो पढाई पनि अगाडी बढी रहेकै थियो’ उनले भने, ‘मैले स्नातक तह पास गरिसकेको थिए। पोखरामा सुर्य चुरोटको डिस्ट्रीब्यूटरमा काम गर्ने भए।’
सेवा सुविधा राम्रो पाएको भए पनि उनलाई त्यहाँ पनि पुरानै अनुभव दोहोरिएको महसुस भयो। उनको जागिर बदल्ने क्रम रोकिएन। त्यसपछि थप ३ वटा जागिर गरे। सात वटा जागिर गरिसकेपछि उनले निष्कर्ष निकाले कि जागिरबाट सन्तुष्ट हुन न सकिने रहेछ। उनी भन्छन् ‘जागिर भनेको भोकै मर्न नदिने प्रगति पनि गर्न नदिने रहेछ।’
उनी आफूले काम गरेको कम्पनीलाई अभिभावक मान्छन्। जुन कम्पनीले उनलाई जागिरबाट प्रगति हुन्न भन्ने सिकाए, ती कम्पनीलाई सिकाई भएको ठाउँको रुपमा उनी लिन्छन्। व्यवसायको सोच निर्माण गर्न सहयोग गरेको रुपमा लिन्छन्। औपचारिक पढाई पनि एमबीबीएसम्म गरेका अधिकारी पछिल्लो केही समयदेखि बलिदान नामक चिया र अन्य चिया उत्पादन गरेर व्यवसाय गरिरहेका छ्न्। साथीभाइहरुको सुझावबाट चियाको क्षेत्रमा प्रवेश गरेको बताउने उनी भन्छन्, ‘यदि चियाकै कारोबार नगरिरहेको भए पनि कुनै न कुनै रुपले व्यवसायकै क्षेत्रमा हुन्थे।’
(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा, व्यवसायी किरण अधिकारीसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)