राजघाट पुल अलपत्र पार्ने ठेकेदारलाई नै सडक निर्माणको ठेक्का
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरदेखि राजघाट पुल जोड्ने सडकको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। ठेक्का सम्झौता भएको डेढ वर्षसम्म पनि सडक निर्माणले गति लिन नसकेको हो।२०७७ असारमा प्रदेश सरकारको समपुरक अनुदानको एक करोडसहित धनगढी उपमहानगरपालिकाले एड्भेञ्चर निर्माण जेभीसंग तीन करोड ४७ लाखमा सडक निर्माणका लागि सम्झौता गरेको थियो। तर सम्झौता गरेको डेढ वर्षपछि मात्र निर्माण कार्य भइरहेको छ। जसका कारण वरपरका बासिन्दाले हैरानी खेप्नु परिरहेको छ।
निर्माणका लागि भत्काइएको सडकमा आवतजावत गर्नै मुस्किल भइरहेको एकजना व्यवसायी दुर्गादत्त भट्ट बताउँछन्। ‘यो सडक निर्माण गर्ने भनेको धेरै वर्ष भइसकेको छ,’ उनले भने, ‘अहिलेसम्म कुनै काम भएको छैन। सडकमा उड्ने धुलोमाटोले सास्ती छ। आवागमन गर्नै मुस्किल छ।’ सडक निर्माणका लागि २०७७ असार १४ गते सम्झौता गरिएकोमा २०७९ असार १५ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने छ। तर निर्माण व्यवसायीको लापरबाहीका कारण अबको सात महिना अर्थात असार मसान्तमा सम्पन्न हुनेमा आशंका गरिएको छ।
पटकपटक ताकेता गरेपछि बल्ल काम सुरु गरेको भए पनि सुस्त गतिमा काम भइरहेको हुँदा असार मसान्तमै काम सकिनेमा अशंका रहेको धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले बताए। ‘सडक निर्माणको अवधि असार मसान्तसम्म मात्रै छ,’ उनले भने, ‘कामको प्रगति हेर्दा असार मसान्तमा सम्पन्न हुने जस्तो देखिन्न। अहिले पनि निर्माण व्यवसायीलाई कार्बाही किन नगर्ने भनेर परिपत्र गरेपछि काम सुरु गरिएको हो।’
अझै कामदारहरु बढाएर कामको गति बढाउने हो भने असार मसान्तसम्म नाली लगायत केही काम मात्रै सम्पन्न हुन सक्ने इञ्जिनीयर भट्टको भनाइ छ। १२ सय ५० मिटर लम्बाइ रहेको उक्त सडक निर्माणका लागि सात महिना अवधि बाँकी रहँदा २० प्रतिशत मात्र प्रगति भएको छ।
पुल अलपत्र पार्नेलाई नै सडकको ठेक्का
एड्भेञ्चर/मल्ल जेभीले तीन वर्षमा सम्पन्न गर्ने गरी २०७१ असारमा राजघाट जोड्ने मोहनापुलको जिम्मा पाएको थियो। तर ८ वर्ष बितिसक्दा पनि सो पुल निर्माणको काम सम्पन्न भएको छैन। सोही जेभीले साढे तीन करोडको चटकपुर–राजघाट पुल सडक निर्माणको ठेक्का पाएको हो।
राजघाट जोड्ने मोहना पुलको निर्माणमा एड्भेञ्चर जेभीले वर्षाैदेखि लापरबाही गर्दै आएकोमा सडक निर्माणको जिम्मा पनि सोही जेभीले पाउँदा लापरबाही भएको स्थानीय जीवन महराले बताए। उनले भने, ‘एउटै ठेकेदारले पुलको ठेक्कादेखि सडक निर्माणको पनि ठेक्का पाएपछि काममा लापरबाही भएको हो।’ अर्का स्थानीय शिवराज अवस्थीले पुलको योजना ८ वर्षसम्म पूरा नगर्ने ठेकेदारलाई कार्बाही गर्नुको सट्टा सडक निर्माणको जिम्मा दिएर बद्मासी गरिएको बताए। उनले थपे, ‘पुलको योजना अलपत्र पार्नेलाई सडक उपहारमा दिए जस्तो देखियो।’
सम्झौता अवधि असार मसान्तसम्म रहेकोले समयमै काम सम्पन्न हुने सम्भावना रहेको एड्भेञ्चर जेभीका सञ्चालक चन्द्रशेखर मल्लले बताए। ‘कोरोना महामारीका कारण काममा ढिलाई भएको हो,’ उनले भने, ‘अब कुनै अवरोध नभए निर्धारित समयमै काम सम्पन्न हुन्छ।’