सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटो रिक्साको जोरबिजोरमा कडाइ गरिने, दर्ता बन्द गर्न चालकको माग

२०७८ पुष ६, ०८:०५ नारायण अवस्थी

कैलाली : धनगढीको मुख्य सडक साँघुरो छ। त्यसैमाथि हजारौं अटो रिक्सा तथा अन्य सवारी साधनको चापका कारण बजारमा पटकपटक ट्राफिक जाम हुने समस्या छ। बजारको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीले अटो रिक्सामा जोरबिजोर प्रणाली लागू गरेको छ तर रिक्सा चालकहरुले भने विरोध गरेका छन्। रिक्सा चालकहरुले यातायात कार्यालयले नयाँ रिक्सा दर्ता रोक्नुपर्ने, धनगढी उपमहानगरपालिकामा दर्ता भएका अटो मात्रै धनगढी बजारमा चल्न दिनुपर्ने र जोरबिजोर खारेज गर्नुपर्ने माग गरेका छन्।

नेपाल रिक्सा ठेला तथा सम्बद्ध श्रमिक संघ कैलालीका अध्यक्ष लालबहादुर कामीले भने, 'धेरै रिक्सा भए भनेर हामीलाई जोरबिजोर लागू गर भनिएको छ। नयाँ अटो पनि डिलरसँगको मिलेमतोमा खरिद गर्ने र दर्ता गर्ने काम भइरहेको छ।' उनका अनुसार धनगढी उपमहानगरपालिकामा दर्ता भएका सात सय अटो मात्रै चल्न दिए जोरबिजोर लगाउँनै पर्दैन। अटो रिक्साको संख्या बढेको भन्दै जोरबिजोर प्रणाली लागू गरिए पनि यातायात कार्यालय कैलाली र कञ्चनपुरले अटो रिक्सा दर्ता भने रोकेका छैनन्।

यातायात कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले प्रदेश सरकारले निर्देशन नदिँदासम्म नयाँ दर्ता रोक्न नमिल्ने बताए। 'हाम्रो कार्यालय प्रदेश सरकार मातहतको हो। अहिलेसम्म दर्ता गर्न आएका अटो दर्ता गर्ने गरेका छौँ,' उनले भने, 'रिक्साको संख्या बढेको अनुभव सबैले गरेका छन्। प्रदेश सरकारले दर्ता बन्द गर्न निर्देशन दिए मात्रै बन्द गर्न सकिन्छ।' धनगढी उपमहानगरपालिका सहितका अन्य पालिकाले पनि दर्ता बन्द गरेका छैनन्। अटो रिक्सा आवश्यकताभन्दा बढी भयो भन्दै जोरबिजोर लगाउने तर दर्ता बन्द नगर्ने कार्य भइरहेको भन्दै अटो चालक रुष्ट छन्।

बिहीबारदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक चौराहदेखि क्याम्पस चोकसम्मको मुख्य सडकमा अटो रिक्सामा जोरबिजोर प्रणाली लागू गरेको छ। जोरबिजोर प्रणालीमा रिक्सा चलाउँदा सडकमा ट्राफिक जाम भएको छैन। रिक्सा चालकहरूले जोरबिजोर प्रणाली नमान्ने भने पनि कार्यान्वयन गराउन सबैले सहयोग गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी निरीक्षक वकिल सिंहले बताए। 'हामीले सबै पक्षसँग सल्लाह गरेर मुख्य सडकमा जोरविजोर प्रणाली लागू गरेका हौँ,' उनले भने, 'ट्राफिक व्यवस्थापन गर्न सबैले सहयोग गर्नुपर्छ। हामी तोकिएको सडकमा जोरबिजोर प्रणाली लागू गराउन प्रतिवद्ध छौँ।'

धनगढीको ट्राफिक चौराहदेखि क्याम्पस चोकसम्मको मुख्य सडकमा मात्रै जोरबिजोर प्रणाली लागू गरिएको छ। नगरको अन्य सडकमा भने रिक्सा चलाउन रोक लगाइएको छैन। मुख्य सडकमा सवारी नपाएर हिँड्नुभन्दा ट्राफिक सहज हुने नियम मान्नु उपयुक्त हुनेमा ट्राफिक प्रहरीले जोड दिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस