कञ्चनपुरको बैलौरीमा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण
धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कम्बल (ब्ल्याङ्केट) वितरण गरिएको छ। उक्त वडा कार्यालयले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप न्यानो कम्बल (ब्ल्याङ्केट) वितरण र निःशुल्क स्वास्थ्य बिमा गरेको वडाध्यक्ष अर्जुन ढकालले बताए।
चालु आर्थिक वर्ष २०७८/०७९ को वडास्तरीय कार्यक्रमबाट उक्त वडाभित्रका सामाजिक सुरक्षा भत्ता खाइपाई रहेका ७० वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिक,, ६० वर्ष माथि उमेर समूहका एकल महिला तथा दलित ज्येष्ठ नागरिक गरी ३ सय भन्दा बढी व्यक्तिहरूलाई न्यानो कम्बल (ब्ल्याङ्केट) वितरण र निःशुल्क स्वास्थ्य बिमा गरिएको उनले बताए।
वडा समितिले सम्मान स्वरूप वितरण गरेको न्यानो कम्बलले बढ्दै गएको जाडोबाट बचाउने मात्रै नभई आफूहरूप्रति निर्वाचित जनप्रतिनिधिहरू जिम्मेवार रहेको कुरा समेत पुष्टि भएको लाभग्राही ज्येष्ठ नागरिकहरूको भनाइ छ।