सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका तीन कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

फाइल फोटो
फाइल फोटो
२०७८ पुष २, ०५:५५ रासस

 

डोटी: कृषि क्षेत्रमा उलेख्य काम गर्ने जिल्लाका तीन  किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय दिपायल राजपुरले उनीहरुलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुनेमा जोरायल गाउँपालिका–१ का खडकबहादुर मल्ल, जोरायल–३ का विष्नादेवी अवस्थी र शिखर नगरपालिका–१० का देवकीकुमारी दियाल महरा रहेका छन्। कृषक मल्लले तरकारी खेती, अवस्थीले पनि तरकारी खेती  र च्याउँ खेती अनि महराले पशुपालन व्यवसायबाट उलेख्य काम गरेकाले पुरस्कृत भएका छन्।

कृषि विकास निर्देशनालयमा आज आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई जनही २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष कार्यविधि बनाएर यो पुरस्कार प्रदान गर्ने तयारी गरेको र यस वर्षबाट शुरुवात गरेको कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले जानकारी दिए। डडेल्धुरा जिल्लामा जन्मिनुभएका किसान नेता एवं शहीद भीमदत्त पन्तको नामबाट उक्त पुरस्कार राखिएको हो। कृषि र पशुपालन क्षेत्रमा राम्रो काम तथा आम्दानी गर्ने किसानको हौसला बढाउनका लागि उक्त पुरस्कार र सम्मान प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका प्रमुख खडकबहादुर शाहले बताए।

“भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट आफू पुरस्कृत भएकोमा आफू निकै खुशी हुनुका साथै कृषि क्षेत्रमा काम गर्नेथप हौसला प्रदान भएको जोरायल गाउँपालिका–१ का कृषक खडकबहादुर मल्लले बताए। उनले भने, “मैले गरेको कामको मुल्याङकन गरि पुरस्कृत गरेकोमा खुसी भएको छु, कृषि क्षेत्रमा थप काम गर्ने हौसला प्रदान भएको छ।” उहाँले विसं २०५८ देखि जोरायल गाउँपालिका–१ तिलाचौडमा तरकारी खेती गर्दै आएका छन्।

यस्तै जोरायल गाउँपालिका–३ का किसान विष्नादेवी अवस्थीले आफूले हालसम्म कुनै पनि प्राविधिक तालिम नलिएरै भए पनि च्याउ खेती, तरकारी खेती, मसलाबालीको खेती र कुखुरापालन गर्दै आएको बताए। उनले भने, “मैले तालिम नलिएरै कृषि काम गरेकी थिए, तरकारी र च्याउ खेतीले राम्रो आम्दानी भएको छ, आज पुरस्कृत भए खुसी छु।” उता शिखर नगरपालिका–१० का कृषक देवकीकुमारी दियाल महराले आफूले गरेको पशुपालनको स्थलगत अनुगमन र मूल्याङ्कन गरी आफूलाई पुरस्कृत गरेकोमा निकै खुुसी व्यक्त गरे। साथै आफूले २० रोपनी जमीनमा तरकारी खेती पनि गर्दै आएको र राम्रै आम्दानी भइरहेको उनले जानकारी दिए। पशुपालन र कृषिसम्बन्धी हालसम्म आफूलै कुनै किसिमको तालिम नलिएकाले तालिम पाउन सकेमा अझै राम्रो गर्न सकिने महराले आग्रह गरे। सुदूरपश्चिमका नौवटै जिल्लामा रहेका तीन÷तीन जनाका दरले कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गर्ने तयारी भइरहेको कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ। निर्देशनालयका अनुसार यहाँका नौ जिल्लाबाट छनोट गरी २७ जना कृषकमध्येबाट यही पुस ५ गते पुनः एक जनालाई सर्वोत्कृष्ट र चार जनालाई उत्कृष्ट गरी पाँच जना कृषकलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ। 

कमेन्ट लोड गर्नुस