सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुविवाहका कारण अधिकांश महिला हिंसामा

। फोटो स्रोत ।
२०७५ पुष २०, ०६:१६ सीपी लोहीया

बैतडीमा महिलामाथि हुने अधिकांश हिंसा बहुविवाहका कारण हुने गरेको पाइएको छ। सुरक्षित महिला आवासगृहमा पछिल्लो दुई बर्ष यता सेवा लिन आएका हिंसा पीडित महिलामध्ये धेरै जसो बहुविवाहका कारण हिंसामा परेका पाइएका छन्। 
सुरक्षित महिला आवास गृहमा सेवा लिन आएका हिंसा पीडित सय जना महिलामध्ये १७ जना बहुविवाहका कारण ंिहसामा परेका पाइएका छन्। यस्तै श्रीमानको मानसिक समस्या हुँदा आफूहरु हिंसामा परेको भन्दै १२ जना सुरक्षित महिला आवास गृहमा आएर सेवा लिएको सुरक्षित महिला आवास गृहको व्यवस्थापन गरिरहेको संस्था परोपकार ग्रामीण संघका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले जानकारी दिए। 
सानो उमेरमा विवाह गर्ने र त्यसपछि रोजगारीका लागि यताउता गएका श्रीमानहरुले बहुविवाह गर्ने गरेको पाइएको उनले बताए। यस्तै हिंसा पीडित महिलाहरुलाई दिगो रुपमा सहयोग पुर्याउन नसक्नु चुनौतीको रुपमा समेत देखिएको छ। सुरक्षित महिला आवास गृहमा ३५ दिनका लागि हिंसा पीडित महिलाहरुलाई राख्न सकिने भएपनि त्यसपछि उनीहरुको व्यवस्थापन गर्न समस्या देखिएको छ। 
हिंसा पीडित महिलाहरुलाई न्याय दिलाई उनीहरुलाई जिविकोपार्जनका क्रियाकलापमा सहभागी गराउन सके मात्रै हिंसा पीडितहरुको उद्धार हुने सरोकारवालाहरुले बताएका छन्। महिला सुरक्षित आवास गृहमा छोटो समयका लागि मात्रै सेवा दिइने भएकाले आफूहरुको दिगो व्यवस्थापनमा सहयोग गर्नुपर्ने हिंसा पीडित महिलाहरुले बताएका छन्। हिंसामा पर्ने महिलाहरु मध्ये ४० बर्ष मुनिका धेरै रहेको सुरक्षित महिला आवास गृहको तथ्यांकले देखाएको छ।   
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस