सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गन्धित बन्दै कैलालीको कोइलही ताल

२०७८ मंसिर २७, ११:३८ विन्दु चन्द

धनगढीः राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रमको बजेटमा नेपाली सेनाले सुन्दर ताल निर्माण कैलारी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो। गाउँपालिकाको वडा नम्बर ९ मा रहेको कोइलही ताल क्षेत्रमा भौतिक संरचना निर्माण गर्दै डुंगाको समेत व्यवस्थापन गरिएको छ। अहिले तमाम आन्तरिक तथा बाह्य पर्यटकहरु ताल क्षेत्रमा पुग्ने गरेका छन्। तर पछिल्लो समय ताल क्षेत्र दुर्गन्धित बन्दै गएको छ। त्यहाँ बढीजसो महिलाहरुलाई समस्या हुने गरेको गुनासो गरिएको छ। क्षेत्र मनमोहक भए पनि व्यवस्थापन नहुँदा समस्या भएको बर्दियाको राजापुरबाट ताल अवलोकन गर्न पुगेकी ऋितु चौधरीले बताइन्। 

उनले भनिन्, ‘म यहाँ पहिलो पटक आएकी हुँ। तर यहाँ व्यवस्थापन नहुँदा महिलाहरुलाई धेरै समस्या हुँदो रहेछ। यहाँ न शौचालय छ न त व्यवस्थित ठाउँ नै। धेरैले रक्सी खाएर जथाभावी बोल्ने गर्छन्, सुरक्षाकर्मी पनि छैनन्। सुरक्षाकर्मी भयो भने सहज हुने थियो।’ उक्त क्षेत्र पुग्ने बाटो समेत असुरक्षित छ। कच्ची बाटोको धुलोले स्वास्थ्यमा असर पार्ने गरेको छ। हिउँदेयाममा धुलो र बर्खायाममा हिलोले गर्दा समस्या हुने गरेको स्थानीय श्रवण चौधरीले बताए।

साँघुरो बाटोमा खाल्डाखुल्डी तथा ठूलाठूला ढुंगा हुँदा समस्या हुने गरेको उनी बताउँछन्। ‘आउँदा र घर फर्किदा धेरै समस्या हुन्छ। साघुँरो बाटो छ, ट्याक्टर बस समेत यसै बाटोमा हिँड्छन्। दुर्घटनाको डर हुने गरेको छ’ उनले भने। 
बस्ती छेउको घना जंगल क्षेत्रमा रहेको उक्त ताल मनमोहक छ। हरियाली जंगलको स्वच्छ हावा, स–साना टाकुरा बीचमा नीलो ताल मनमोहक र रमणीय छ। कोइलही तालमा वनभोज जानेहरुको समेत भिड लाग्ने गरेको छ। तर वनभोज जानेहरुले मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्ने भएकाले पर्यटकले असुरक्षित महसुस गर्दै आएका छन्। 

वनभोजमा आएकाहरुले ताल क्षेत्रमा फोहोर समेत गर्दै आएका छन्। उनीहरुले पानीका धाराहरु फुटाइदिने, घेरबार तोडिदिने लगायतका गलत गतिविधि गर्दा समस्या भएको कर्मचारी लिपाथापा मगर बताउँछिन्।  उनले भनिन्, ‘ठाउँ रमाइलो छ। हामीले पनि काम गर्न पाइरहेका छौँ खुसी लाग्छ। तर नियन्त्रण गर्न धेरै समस्या भइरहेको छ। दिनमा डुंगामा मात्रै साढे ३ सय बढी पर्यटक  आउने गर्छन्। धेरैले रक्सी खाएर झगडा गर्छन्। सम्झाउनै सकिँदैन। उक्त विषयमा गाउँपालिकाले ध्यान नदिँदा समस्या भइरहेको उनले बताइन्। ‘जसोतसो समितिले सञ्चालन गरिरहेको छ। यहाँ गाउँपालिकाकोे कुनै ध्यान छैन। केही सामग्री ल्याए पनि राख्नका लागि भवन छैन। सम्बन्धित निकाय लापरवाही छन्। हामीले के गर्ने’ उनले भनिन्।

गाउँपालिकाले ताल क्षेत्रमा सरसफाई गर्दैन। तर पर्यटकबाट सङ्कलन भएको रकम गाउँपालिकाले लिने गरेको छ। ताल क्षेत्रमा माछा पालनका लागि गाउँपालिकाले ठेक्का समेत लगाएको छ। ९ नम्बर वडामा रहेको सो ताल कसरी सञ्चालन भइरहेको छ भन्ने बारे वडा कार्यालयलाई नै थाहा छैन।  कैलारी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष खेमराज चौधरी भन्छन्, ‘यो हामीलाई थाहा छैन। गाउँपालिकालाई भन्दा उसले सुन्दै सुन्दैन। स्थानीयले समिति बनाएर सञ्चालन गरिरहेकाछन्। त्यहाँबाट उठेको रकम कहाँ जान्छ के गरिन्छ केही थाहा हुँदैन।’

कोइलही संरक्षण संवर्धन समितिले तालको संरक्षण गर्दै आएको छ। तर समितिले ताल क्षेत्रको व्यवस्थापन तथा सरसफाइमा ध्यान दिएको छैन। दैनिक दुई सयको हाराहारीमा पर्यटक कोइलही ताल क्षेत्रमा पुग्ने गरेका छन्। 
केही काम गाउँपालिकाले र केही समितिले गर्ने भनेर कोइलही संरक्षण संवर्धन समितिसँग कैलारी गाउँपालिकाले सम्झौता गरेको जनाइएको छ। सो क्षेत्रमा सरसफाइ र केही व्यवस्थापनका लागि सम्झौता भएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए।

उनले भने, ‘सुरक्षाको विषयमा अहिलेसम्म त्यस्तो कुनै कुरा आएको छैन। सरसफाइ र अन्य व्यवस्थापन गर्ने भनेर सम्झौता भएको हो। अब गाउँपालिकाले अगामी बजेटमा केही विशेष योजनाहरु सञ्चालन गर्ने लक्ष्य लिएको छ।’


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस