थप १९ लाख ६५ हजार मात्रा मोर्डना खोप भित्रियो
काठमाण्डौः कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार ६ सय मात्रा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप आज आइतवार नेपाल भित्रिएको छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरसियाले १९ लाख ६५ हजार ६ सय मात्रा मोर्डनाको खोप नेपाल आज भित्रिएको बताए।
योसहित नेपालमा गएको बुधवार र बिहीवार गरी ३६ लाख ५१ हजार ६ सय मात्रा मोडर्ना खोप आइसकेको छ। मोडर्नाको खोप आउँदो पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका झन्डै १८ लाख बालबालिकालाई लगाइने उनले बताए।
सरकारले बालबालिकालाई विद्यालयबाटै खोप लगाउने जनाएको छ। पहिलो मात्रा फाइजर खोप लगाएकाबाहेक ५७ जिल्लाका बालबालिकालाई विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको उनले बताए।
हिमाली जिल्लाका लागि एक सयभन्दा बढी विद्यार्थी भएका विद्यालय र अन्य बाँकी जिल्लामा दुई सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र तोक्ने तयारी भइरहेको उनको भनाइ छ।