धनगढीमा बर्सेनि थपिन्छन् हजारौं सवारी, साबिककै चौडाई घटाइएका सडकले थेग्लान त ?
धनगढी: वार्षिक रुपमा सवारी साधनको चाप उल्लेख्य बढ्ने गरेको भए पनि प्रदेश राजधानी धनगढीमा पहिलेको भन्दा साँघुरा सडक बन्न थालेका छन्। नगर क्षेत्रमा निर्माण हुन लागेका अधिकांश सडक पूरानाभन्दा पनि साँघुरा बनाउन थालिएको हो। सवारी साधनको चाप हेरेर सडक निर्माण गर्नु पर्ने भएपनि धनगढीमा भने साविकको चौडाई नै घटाइएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा संघीय सरकारले धनगढीमा निर्माण थालेका सात सडकको चौडाइ घटाउने काम भएपछि अहिले स्थानीय चिन्तित भएका छन्। २०÷२५ वर्षपछिको सवारी चापलाई आँकलन गरेर सडक बनाउनुपर्नेमा उल्टो भएको नगरवासीको तर्क छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा संघीय सरकारले निर्माण गरिरहेको धनगढीका सात सडक पहिलेको भन्दा साँघुरा बनाइन लागेको छ। योजना कार्यान्वयनको जिम्मा संघीय सरकारको भए पनि सडक बनाउँदा धनगढी उपमहानगरले क्षेत्राधिकार खाली गर्नुपर्ने हो। तर उपमहानगर क्षेत्राधिकार खाली नगरेपछि साविकको चौडाई समेत घटाएर सडक निर्माण भइरहेको धनगढीको हसनपुरका स्थानीय झपु भट्टले बताए। ‘पहिले सडकको चौडाइ ६५ फिट थियो तर अहिले बढीमा ५२ फिट कायम गरिएको छ।’ उनले भने, ‘उपमहानगरपालिकाले मनोमानी ढङ्ले व्यक्तिगत जग्गा च्याप्ने काम भएको छ। पहुँचवाला व्यक्तिहरुको भने जग्गा बचाउने गरी काम भएको छ।’
धनगढीका सडकहरुको मापदण्डबारे उपमहानगरपालिकाले स्पष्ट मापदण्ड बनाएको छ। मुख्य सडकदेखि नगर क्षेत्रका शाखा र भित्री सडकको मापदण्ड निर्धारण गरिएको छ। सडकको मापदण्ड निर्धारण र अहिले बन्न लागेको सडकमा तालमेल नमिलेको धनगढीको वडा नम्बर १ का स्थानीय हरिबहादुर श्रेष्ठको दाबी छ। ‘पहिले उपमहानगरले सडकको स्पष्ट मापदण्ड बनाएको थियो। तर अहिले सडक बनाउँदा त्यो मापदण्ड अनुसार नभएको कयौंले गुनासो गरेका छन्’, उनले भने, ’नगरपालिकाले सिधा सडकलाई पनि बाङ्गोटिङ्गो बनाउन लागेको किन हो बुझ्न सकिएको छैन।’
अत्याधुनिक प्रविधिबाट निर्माण हुने भनिएका धनगढीका सात सडकमध्ये मुख्य सडकको चौडाई ३० मिटरबाट २४, क्याम्पस गेट–चटकपुर सडकको चौडाई २४ मिटरबाट १६ र अन्य सडकहरु १० देखि १२ मिटर चौडा निर्माण भइरहेका छन्। बर्सेनि धनगढीमा १४÷१५ हजार सवारी साधन थप भइरहेको अवस्थामा साविक चौडाइ घटाउनु उपयुक्त नभएको हसनपुरका स्थानीय दीर्घराज जोशीले बताए। ‘उपमहानगरपालिकाले पूर्वाग्रह राखेर सडक नागबेली बनाउन लागेको छ’, उनले भने, ‘पहिलेकोभन्दा साँघुरो सडक बनाए पनि थोरैको जग्गा बचाउन पहिलेको नालीभन्दा भित्र अर्को नाली बनाइएको छ।’
सहिद गेट–क्याम्पस चोक सडकमा पूरानो नाली छोडेर सडक बनाइन लागेको देख्न सकिन्छ। जसले पहिलेको भन्दा साँघुरो सडक बन्न लागेको स्पष्ट हुन्छ। क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोणमानदेव कटुवालले भने ट्राफिकको विश्लेषण गरेर नै सडक बनाउने गरेको जनाए। ‘सडक चौडा बनाएर मात्रै ट्राफिक सहज हुन्छ भन्ने होइन। सडक बनाउदा यातायातको विश्लेषण गरेर नै सडकको चौडाइ निर्धारण हुन्छ’, उनले भने, ‘कुनै एक सडकको केही सय मिटर चौडा या साँघुरो हुँदैमा ट्राफिकमा समस्या हुँदैन।’
हरेक वर्ष सवारी साधनको संख्या बढ्दो छ। यातायात कार्यालय धनगढीमा हरेक वर्ष १४ हजार बढी मोटरसाइकल, १ हजार अटो रिक्सा, १ हजार निजी ट्याक्टर, २ हजार ५ सय हाराहारीमा निजी कार जीप, १ हजारको हाराहारीमा बस ट्रक दर्ता हुने गरेका छन्। यसरी सवारी साधनको संख्या संख्यात्मक रुपले बढ्ने तर सडक साँघुरो बनाउँदै जादा सवारी व्यवस्थापनमा समस्या हुने देखिन्छ।