सुदूर नेपाललाई विश्वसँग जोड्दै

जग्गा अभावले रोकियो सेती अस्पतालको स्तरवृद्धि, लालपुर्जा छ, भोगचलनमा छैन १ बिघा

२०७८ मंसिर २४, ०७:५२ नारायण अवस्थी

धनगढी : सेती प्रादेशिक अस्पतालसँग भएको लालपुर्जामा ४ बिघा ५ कट्ठा ६ धुर जग्गा छ। तर अस्पतालले भने ३ विघा ५ कट्ठा मात्रै भोगचलनामा रहेको जनाएको छ। अस्पताललाई आकस्मिक कक्ष, अक्सिजन प्लान्ट राख्न र अत्याधुनिक पोष्टमार्टम भवन बनाउन तत्काल जग्गा चाहिएको छ।

संघीय सरकारबाट आकस्मिक कक्ष बनाउज चालू आर्थिक वर्षमा १६ करोड बजेट अस्पतालले पाएको पनि छ। तर लालपुर्जामा जग्गा भए पनि उपभोगमा भने सबै जग्गा नहुँदा १६ करोड बजेट फिर्ता जाने चिन्ता अस्पतालको छ। ‘अस्पतालको लालपुर्जामा ४ बिघा ५ कट्ठा ६ धुर जग्गा छ। तर हामीले उपभोग गर्न भने करिव ३ बिघा ५ कट्ठा मात्रै पाएका छौँ,’ अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डाक्टर हेमराज पाण्डेले भने, ‘आफ्नै जग्गा भोगचलन गर्न नपाएको कारण सेवा बिस्तारमा समस्या भएको छ।’

सेती प्रादेशिक अस्पतालमा प्रदेश सरकारले बहु तले भवन निर्माणको डिपिआर तयार गर्न समेत बजेट छुट्याएको छ। अस्पतालको सेवा बिस्तारका लागि प्रदेश र संघीय सरकारबाट बजेट आए पनि कार्यान्वयन गर्न अस्पताललाई जग्गा अभावले समस्या हुने भएको छ। नयाँ नापीअनुसार अस्पतालको क्षेत्राधिकार भित्र पर्ने जग्गाको हालसाविक गर्न २०७५ फागुन १० गते नापी कार्यालय र मालपोत कार्यालयलाई चैत ५ गते श्रेस्ता उतार गराई दिन सेती प्रादेशिक अस्पतालले पत्राचार गरेको छ। तर नापी तथा मालपोत कार्यालयले अस्पतालको अनुरोध बमोजिम हालसाविक नगर्दा अस्पताललाई आफ्नो जग्गाको क्षेत्रफलबारे पूर्ण जानकारी हुन सकेको छैन। जसको कारण आँखा अगाडिको अस्पताललाई चाहिँने जग्गा अरुले नै प्रयोग गरेको गुनासो गरिएको छ।

सेती प्रादेशिक अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गा भोगचलन गर्न सहजीकरण गर्न अनुरोध गर्दै पटकपटक प्रदेशको सामाजिक विकास मन्त्रालयलाई समेत पत्राचार गरेको छ। अस्पतालमा सेवा थप्न नयाँ भवन र संरचना बनाउन आवश्यक छ तर अस्पतालले आफ्नो जग्गाको चार किल्ला समेत पहिचान गर्न सकेको छैन। हालसाविक गर्ने दायित्व नापी कार्यालयको हो। तर नापी कार्यालयले भने मालपोत कार्यालयमार्फत फाइल खडा गरेर अस्पतालले औपचारिक पहल गर्नुपर्ने जनाएको छ। अस्पतालले आधिकारिक रुपमा प्रतिनिधि सहित मालपोतमार्फत फाइल र कागजपत्र पेस गर्नुपर्ने नापी कार्यालय धनगढीका प्रमुख सुदर्शन धामीले जनाए।

‘व्यक्ति जस्तै कुनै पनि सरकारी कार्यालयले हालसाबिकका लागि प्रक्रियागत रुपमा आउनुपर्ने हुन्छ,’ उनले भने, ‘मालपोत कार्यालयबाट फाइल खडा गरेर आए नापीले हालसाविक गर्छ। उहाँहरुले आउनु पर्यो।’ सेती प्रादेशिक अस्पताको स्वामित्वमा कित्ता नम्बर २६ मा ४ बिघा १ कट्ठा, कित्ता नम्बर ३५ मा २ कट्ठा, ३६ मा १६ धुर, कित्ता नम्बर २७४ मा १ कट्ठा र कित्ता नम्बर २८६ मा १० धुर जग्गा रहेको अस्पतालको श्रेस्तामा देखिन्छ। तर यो सबै जग्गा भने हालसाविक नहुँदा अस्पतालले भोगाधिकारका लागि दाबी गर्न समस्या भएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस