सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा पाउनै मुस्किल

२०७८ मंसिर २१, १०:११ नारायण अवस्थी

धनगढी : सेती प्रादेशिक अस्पतालमा सम्झौताअनुसार डायलासिस सेवा सञ्चालन नहुँदा नयाँ बिरामीलाई सेवा पाउन मुस्किल हुन थालेको छ। तीन वर्षसम्म पनि सम्झौताअनुसार डायलासिस मेसिन नहुँदा नयाँ बिरामीले सेवा पाउनै मुस्किल भएको हो।

अस्पतालमा नियमित डायलासिस गराइरहेका बिरामीले पनि मेसिनमा आउने समस्याको कारण समयमै सेवा पाउन नसकेको गुनासो गरेका छन्। सेती प्रादेशिक अस्पताल र विरङ्ग हेल्थ केयर नामक संस्थाबीच तीन वर्ष अगाडि सेतीमा डायलासिस सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो। सम्झौतामा बिरामीको संख्या बढेमा थप मेसिन राख्ने उल्लेख भए पनि अहिले आएर ५ मेसिन मात्रै सञ्चालनमा रहेका छन्। 

सेतीमा सुरुदेखि नै डायलासिस गराउँदै आएका विरामीले समयसमयमा मेसिनमा समस्या आउने गरेको कारण तोकिएको दिन पालो नपाउने समस्या रहेको गुनासो गरेका छन्। अस्पतालमा पुरानो मेसिन ल्याइएको भएर पटकपटक मेसिनमा समस्या आउने गरेको एक बिरामीको आरोप छ। ‘पुराना मेसिनमा आउने समस्याले तालिका अनुसार डायलासिस गर्न समस्या हुने गरेको छ,’ ती बिरामीले भने।

मेसिनको अभावका कारण दैनिक चार सिफ्टमा डायलासिस सेवा दिनु परेको बताइएको छ। उनका अनुसार ५ मेसिन मात्रै सञ्चालनमा हुँदा दैनिक २० जनाले मात्रै सेवा पाउन सकेका छन्। तर सेतीमा आउने नियमित बिरामीको संख्या भने ७६ रहेको विरंग हेल्थ केयरका स्टेशन व्यवस्थापक दीपक भट्टले दिनेशखबरलाई बताए।

‘तीन वर्ष पहिले हामीले सेवा सञ्चालन गरेका हौँ,’ उनले भने, ‘६ मेसिनबाट सेवा सुरु गरेको भए पनि दुई वटा पछि थपेर ८ मेसिन पुगाएका थियौँ। तर ५ वटा मेसिनबाट दैनिक चार सिफ्टमा डायलासिस गर्ने गरेका छौँ। अब नयाँ मेसिन ल्याउने तयारी पनि गरेका छौँ।’

सेती अस्पतालमा सञ्चालनमा रहेको डायलासिस सेवा तेस्रो तलामा राखिनु उपयुक्त नभएको बिरामीले बताएका छन्। अस्पतालमा लिफ्टको व्यवस्था नहुँदा उनीहरुलाई डायलासिस वार्डसम्म पुग्नै मुस्किल हुने गरेको छ।

गरिव तथा विपन्नले निःशुल्क सेवा पाउने भए पनि उपकरण र जनशक्ति अभावको कारण सेती प्रादेशिक अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन। डाइलाइसिसका लागि अस्पतालमा नेफ्रोलोजिस्ट र सहज रगतको उपलब्धता हुनपर्ने विरामीले माग गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस