भएन सेती अस्पतालको सेवा सुधार, शल्यक्रिया कक्ष थप्न उदासीनता
धनगढी : आकस्मिक र ओपिडी कक्षमा वार्षिक एक लाख बढीले उपचार पाउने सेती प्रादेशिक अस्पतालको सेवा सुधारमा उदासीनता देखिएको छ। प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको सेतीमा लगभग सबै किसिमको विरामीको उपचार सम्भव भए पनि सेवा सुधारमा उदासीनता देखिएको हो। अस्पतालमा आवश्यक जनशक्ति, भौतिक संरचना र उपकरणको अभाव कायमै छ भने विरामीको चाप भने बर्सेनि बढ्दै गएको छ।
सेती प्रादेशिक अस्पतालमा यो वर्षको साउनमा ९ हजार १ सय ४१ विरामी ओपिडी र २ हजार ४ सय १ जना इमर्जेन्सीमा उपचार गर्न आएका छन्। भदौमा ११ हजार २ सय ९१ ओपिडी र ३ हजार २ सय ४३ इमर्जेन्सीमा आएका छन्। असोजमा १० हजार ८ सय २६ विरामी ओपिडीमा तथा ३ हजार ८ सय ३५ जना इमर्जेन्सीमा आएका छन्।
कार्तिक महिनामा भने ११ हजार विरामी ओपिडीमा आएका छन् भने ३ हजार ३ सय ६६ विरामी इमर्जेन्सीमा आएका छन्। सेती प्रादेशिक अस्पतालको तथ्याङ्कअनुसार बहिरंग र आकस्मिक कक्षमा मात्रै एक लाख बढीले वार्षिक रुपमा अस्पतालबाट उपचार पाउने गरेका छन्। तर अस्पतालमा आकस्मिक कक्षको क्षमता कम छ भने ओपिडीमा उपचार पाउन पनि लामो समय लाइन लाग्नुपर्ने बाध्यता छ।
आकस्मिक र ओपिडी कक्षको मात्र नभएर शल्यक्रिया कक्षको समेत अस्पतालमा अभाव छ। जसको कारण विरामीले न्यूनतम शुल्कमा शल्यक्रिया गर्न नपाउदा सास्ती भोग्नु परेको छ। सेती प्रादेशिक अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार यो वर्षको साउनमा १ सय ७८ जनाको शल्यक्रिया गरिएको छ। भदौमा २ सय १७ जनाको शल्यक्रिया भएकोमा असोज र कार्तिकमा २ सय ४ र १ सय ९७ जनाको शल्यक्रिया गरिएको छ।
सेतीमा शल्यक्रिया गरिएरको यो संख्याभन्दा निकै धेरैले न्यूनतम शुल्कमा शल्यक्रिया गराउने अवसर पाउदैनन्। पालो नपाउँदा ठूलो संख्यामा विरामीले अन्यत्र उपचार गराउनुपर्ने बाध्यता छ। सेतीमा आउने सबै विरामीको शल्यक्रिया गर्न नसकिएको अस्पतालका सूचाना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। ’हामी कहाँ हरेक वर्ष उपचार गर्न आउने विरामीको संख्या बढ्दो छ,’ उनले भने, ’प्रदेशमै सबै किसिमको उपचार पनि सेतीमा सम्भव छ। तर विरामीको चापको आधारमा भौतिक पूर्वाधार नहुँदा समस्या हुने गरेको छ। २ वटा शल्यक्रिया कक्ष मात्र हुँदा विरामीले पालो पर्खनुपर्ने अवस्था छ।’
अस्पतालमा हाडजोर्नी, प्रसुति, आन्द्रा बटारिएको, हर्निया, हाइड्रोसिल, पित्तथैली, एपेन्डिक्स र स्पाइनल सर्जरीका साथै नाक, कान, घाटी र दाँत तथा गिजाको शल्यक्रिया हुने गरेको छ। विरामीको संख्याको आधारमा कम्तीमा पनि तीन शल्यक्रिया कक्ष हुनुपर्ने अस्पतालले जनाएको छ।
अहिले शल्यक्रिया कक्षसँगै शल्यक्रिया गर्न बेहोस पार्ने चिकित्सकको समेत अभाव रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए। ’सेतीमा शल्यक्रिया कक्ष पनि दुई वटा मात्रै छन्। अहिलेसम्म अस्पतालमा बेहोस गर्ने चिकित्सकको दरबन्दी पनि छैन,’ उनले भने, ’शल्यक्रिया कक्ष र शल्यक्रिया गर्न बेहोस पार्ने चिकित्सक थप्न सके विरामीले सस्तोमा नै सहजै शल्यक्रिया सेवा पाउने थिए।’
सरकारी अस्पतालमा शल्यक्रियाको न्यूनतम शुल्क दुई हजार तथा अधिकत्तम १० हजार मात्रै लाग्ने भए पनि जनशक्ति र शल्यक्रिया कक्षको अभावमा हरेक प्रकारका शल्यक्रिया हप्तामा दुई दिन मात्रै गर्नुपर्ने अवस्था छ।