धनगढी दक्षिणको ६ किलोमिटर हुलाकी सडकको निर्माण कार्य सुरु
९ महिनादेखि अलपत्र कामको विवादरहित ठाउँ प्राथमिकता
राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गतको कैलाली कञ्चनपुर जोड्ने झण्डै ६ किलोमिटर सडक खण्डको निर्माण कार्य सुरु भएको छ। नौ महिनादेखि अलपत्र परेको सडक खण्डको निर्माण कार्य सुरु भएको हो। धनगढीको मुख्य बजारको दक्षिणतिर क्याम्पस चौकदेखि भन्सारसम्मको ६ किलोमिटर सडक निर्माणका लागि सर्वेको काम भईरहँदा स्थानीय वासिन्दाको अवरोध र अदालतमा मुद्धा हालेपछि अलपत्र परेको काम अहिले आएर अगाडी वढेको हो। सडक खण्डको खाली रहेको र विवादरहित ठाउँमा तत्काललाई काम अगाडी वढाउने काम थालिएको हो। त्यसपछि विवाद भएका ठाउँमा स्थानीय वासिन्दा र जन प्रतिनिधिहरुको सहमतिमा निर्माण कार्य अगाडी वढेको हो।
धनगढीको क्याम्पस चौकदेखि भन्सारसम्मको ६ किलोटिमर सडकको प्रक्रिया अगाडी बढाउँदा स्थानीयले अवरोध गर्दै मुद्धा हालेपछि नौ महिनादेखि रोकिएको काम हाल आएर सुरु भएको हो। दुवै जिल्लालाई जोड्ने ६ किलोमिटर सडक निर्माणका लागि गत चैत २७ गते २३ करोड ११ लाख २४ हजारमा ठेक्का सम्झौता गर्दै सर्वेको काम थालेको रमन केएस जेभीले बिचको नौ महिना काम गर्न सकेको थिएन्। तर दुई महिनादेखि कार्यालय प्रमुख विहीन भएको हुलाकी सडक आयोजनामा प्रमुख आएपछि स्थानीय जन प्रतिनिधिहरुले सहयोगको आश्वासन दिएपछि निर्माणको काम अगाडी वढाईएको निर्माणको जिम्मा पाएको रमन केएस जेभीका निर्माण व्यवसायी सुरेन्द्र पालले बताए।
स्थानीयले अवरोध गरेपछि गत वैशाख २० गते नै हुलाकी सडक आयोजनालाई पत्र लेखेर निर्माण कम्पनीले अवरोध हटाई दिन आग्रह गरेको थियो। तर हुलाकी सडक आयोजनाले पहल नगरेर काम अगाडी नवढेकै वेला अधिकांश विकासे काममा मुद्धा हालेर अवरोध पुराउँदै आएका चित्रवहादुर कार्कीकी छोरी अर्चना कार्कीले कैलाली जिल्ला अदालतमा निर्माण कार्य रोक्न आदेश माग्दै गत जेठ २७ गते मुद्धा हालेपछि थप समस्या सिर्जना हुँदै आएको थियो । विरोध र विवाद त्यो नभएको ठाउँमा निर्माणको काम सुरु भएको हो। स्थानीय सरकारको समन्वयमा विवाद नभएका र खाली ठाउँमा पहिलो चरणमा निर्माणको काम सुरु गरिएको र वाँकी ठाउँमा पनि स्थानीयको सहमतिमा काम अगाडी वढाईने हालै सरुवा भएर आएका आयोजना प्रमुख राम पुकार जैसावालले बताए।
सडक खण्ड निर्माणका लागि १८ महिनाको अवधि दिईएकोमा ९ महिना भने काम गर्न नपाएर सिद्धिएको छ। वाँकी रहेको ९ महिनामा सडक निर्माणको काम नसकिने पक्का भएको छ। तर वाँकी रहेको अवधिमा निर्माणको कार्यलाई जति सक्दा तिव्रताका साथ लैजाने र कम समय थप मागेर भएपनि काम सम्पन्न गराउने निर्माणको जिम्मा पाएको रमन केएस जेभीका निर्माण व्यवसायी सुरेन्द्र पालको दावी छ।
सुदुरपश्चिमको समृद्धिसँग जोडिएको सडक निर्माणको काम ९ महिनादेखि रोकिदा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँगै यसक्षेत्रवाट प्रतिनिधित्व गर्ने जन प्रतिनिधिहरुले पहल नगरेको आरोप लाग्दै आएको थियो तर धनगढी उपमहानगरपालिकाका प्रतिनिधिले अहिले आएर सक्रियता देखाएपछि सडक निर्माणको काम अगाडी वढेको हो।