देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा दश हजार ४४६ को पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ५२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४५२ पुगेको छ। पछिल्लो समय थप ३०२ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख एक हजार ७२२ पुगेको छ। निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
दुईको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ। त्यसैगरी पछिल्लो समय एक लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २८७ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ८९६, संस्थागत आइसोलेशनमा ३९१, सघन उपचार कक्षमा १७५ र भेन्टिलेटरमा ३३ जनाको उपचार हुँदैछ।