सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरमा बल्न छाडे सौर्यबत्ती

२०७८ मंसिर १०, ०२:०३ विन्दु चन्द

धनगढी : धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा जडान गरिएका सौर्यबत्ती काम नलाग्ने भएका छन्। करोड बढीको लागतमा जडान गरिएका सौर्यबत्ती बल्न छाडेपछि रातिको समयमा हिँडडुल गनै समस्या भइरहेको हो। 

महिनौँदेखी बत्ती बिग्रिए पनि सम्बन्धित निकायले बेवास्ता गरेको धनगढीकी स्थानीय कल्पना जोशीको गुनासो छ। उनले भनिन, ‘यहाँ बत्ती बल्न छोडेको महिनौँ भयो। नजिकको वडाकार्यालय, उपमहानगरपालिकालाई पटकपटक आग्रह गर्दा पनि मर्मत भएको छैन।’

चिसो मौसममा बत्ती नभएकाले अझै समस्या हुने गरेको छ। चिसो मौसममा रातिको समयमा हुस्सु लाग्ने भएकाले बढी समस्या हुने गरेको धनगढीका जगतबहादुर डगौराले बताए। ‘चाँडै राति हुने र विहान पनि ढिलो उज्यालो हुने भएकाले अहिले बढी समस्या रहेको छ,’ उनले गुनासो गरे। 

धनगढीमा एक करोड बढीको लागतमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत उपमहानगरपालिकाले सौर्यबत्ती जडान गरेको थियो। केन्द्रको ६५ प्रतिशत, उपमहानगरपालिकाको १५ प्रतिशत र उपभोक्ता समितिको २० प्रतिशतको लगानीमा सौर्यबत्ती जडान गरिएको धनगढी उपहानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले बताए।

उनका अनुसार धनगढीको बसपार्क, तारानगर, बैयाबेहडी, चिल्ड्रन पार्क, कनरी पार्क,  एसपीए लाइन, उत्तरबेहडी लगायतका क्षेत्रमा सडक सौर्यबत्ती जडान गरिएका छन्। बसपार्क, तारानागर लगायतका क्षेत्रका बत्ती बिग्रिएका छन्। तर उपमहानगरपालिका ब्याट्री परिवतर्नमा बढी रकम खर्च हुने भन्दै पन्छिरहेको छ। 

इञ्जिनियर दीजराज भट्टले भने, ‘धेरै बत्तीमा समस्या आइरहेको छ। कारण ब्याट्रीकै हो। ब्याट्री फेर्न पनि खर्च बढी लाग्ने देखिएको छ।’ सौर्यबत्ती मर्मतको योजना नभएको उपमहानगरपालिकाले साढे चार लाखका प्रत्येक वर्ष बत्ती जडान गर्दै आएको छ। चालू आर्थिक वर्षमा पनि १० लाख लागतका सौर्यबत्ती जडानको योजना वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको छ। 
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस