सुदूर नेपाललाई विश्वसँग जोड्दै

भैंसीमा खोरेत रोगको प्रकोप

। फोटो स्रोत ।
२०७५ पुष १२, ०५:१५ सीपी लोहीया

बैतडीको मेलौली नगरपालिका वडा नं ९ मा किसानहरुले पालेका भैंसीमा खोरेत रोगको प्रकोप देखा परेको छ।
खोरेत रोगका कारण ३० घरधुरीका किसान प्रभावित भएका भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका पशुसेवा प्राविधिक बिसनसिंह बिष्टले बताए। भैंसीमा खोरेत रोगको प्रकोप देखिएपछि अन्यत्र नसरोस भन्नका लागि खोरेत रोग विरुद्धको अभियान सञ्चालन गर्ने तयारी भईरहेको उनले बताए।
खोरेत रोग लागिसकेपछि उपचारले ठीक नहुने भएकाले खोरेत रोग लाग्नै नदिनका लागि खोप अभियान शुरु गर्ने तयारी भएको उनले बताए। खोरेत रोग प्रभावित क्षेत्र आसपासका किसानहरुका भैैंसीमा खोरेत रोग विरुद्धको खोप लगाइने बिष्टले बताए। 
भैंसीमा खोरेत रोग लागेमा खुर तलतिरको पाक्ने, जिब्रो पाक्ने, र्याल चुहाउने लगायतका लक्षण देखा पर्ने प्राविधिहरुले बताएका छन् । पछिल्लो समयमा खोरेत रोगकै कारण भैंसी पालन व्यवसाय संकटमा परेको बताइएको छ।

भेडाबाख्रामा पीपीआर रोग महामारीका रुपमा देखियो 

बैतडीको दुर्गम सिगास गाउँपालिकाका किसानले पालेका भेडाबाख्रामा पीपीआर रोग महामारीका रुपमा देखा परेको छ। 
गएको दुई हप्ता यता सिगासमा पीपीआर रोगवाट १ सय बढी भेडाबाख्रा मरिसकेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु चिकित्सक एवं कार्यालय प्रमुख हरिदत्त भट्टले जानकारी दिए। सिगास गाउँपालिकाको वडा नं ७ मा यो रोग सबभन्दा बढी देखा परेको बताईएको छ। 
पीपीआर रोगले भेडाबाख्रा धमाधम मर्न थालेपछी किसानहरु चिन्तित बनेका स्थानीय सुरेन्द्र साउँदले जानकारी दिए। महामारीका रुपमा पीपीआर रोग देखा परेपछी भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीवाट चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको छ।
चिकित्सकको टोली प्रभावित क्षेत्रका १० हजार भेडाबाख्रामा माहामारी रोग पीपीआर विरुद्धको खोप लगाउने कार्य गरिरहेको छ । पीपीआर रोग लागीसकेपछी भेडाबाख्रा प्रायः ४८ घण्टाभित्र मर्ने भएकोले प्रभावित क्षेत्रमा रहेका अन्य भेडाबाख्रालाई पीपीआर रोगको संक्रमणवाट बचाउन १० हजार भेडाबाख्रामा उक्त खोप दिन लागिएको जनाएको छ। 
पीपीआर रोग लागेमा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडाहरु मर्ने, भेडा बाख्रामा ज्वरो आउने, नाकबाट सिँगान बग्ने, आँसु फाल्ने जस्ता लक्षणहरु देखा पर्ने गर्दछन्। 
पीपीआर भाइरसको संक्रमणबाट बाख्रा लाग्ने एक प्रकार संक्रामक रोग भएको र यसको रोकथामका लागि पीपीआर विरुद्धको खोप एक मात्र उपाय भएको चिकित्सकको भनाई रहेको छ।
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस