सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा क्षेत्रीय सहरीमार्फत निर्माण हुने सडकबाट भौतिक संरचना हटाउनै बाँकी

२०७८ मंसिर ५, ०४:२८ कमल सावद

धनगढीः एशियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले धनगढीमा १० किलोमिटर र गोदावरी नगरपालिकामा १६ किलोमिटर सडक कालोपत्रेको योजना अगाडि बढाएको छ। क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण सुरु भएको सडकको धनगढीमा २२ र गोदावरीमा १९ प्रतिशत भौतिक प्रगति भएको छ। तर धनगढी र गोदावरी नगरपालिकाले सडकमा पर्ने सबै भौतिक संरचना खाली गराउन नसक्दा सडक निर्माणको काम प्रभावित भएको छ। धनगढीका सात सडकमध्ये काम सुरु भएका सडकहरुमा समेत उपमहानगरले भौतिक संरचना खाली गर्न नसकेको कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले बताए। उनले भने, ‘धनगढीको शहिद गेटदेखि क्याम्पस गेट सडकको धेरै ठाउँमा अझै अवरोध छ। उपमहानगरपालिकाले सडकको क्षेत्राधिकार खाली गराउन सकेको छैन।’

यस्तै मालपोत सडकमा पर्ने सरकारी संरचना समेत खाली गरिएको छैन। गुल्म–चर्च सडकमा पनि ठाउँठाउँमा भौतिक संरचना छन्। सडकमा रहेका भौतिक संरचना हटाउन नसकेको उपमहानगरले धनगढीको मुख्य सडकमा रहेको खानेपानीको पाइप स्थानान्तरणबारे पनि टुंगो लगाउन सकेको छैन। क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका इन्जिनियर द्रोण कटुवालले धनगढीको मुख्य सडकमा रहेको खानेपानीको पाइप स्तान्तरणका लागि योजना निर्माणको चरणमा रहेको बताए। उनले भने, ‘मुख्य सडकको खानेपानीको पाइपको समस्या समाधान भएको छैन। सडकको दुबैतिर पाइप लाइन बिस्तार गर्ने योजना बनाउदै छौ।’

धनगढीमा सात सडक र गोदावरीमा ६ सडक निर्माणका लागि गत वर्ष ठेक्का सम्झौता भएको थियो। दुई वर्षमा सबै काम सम्पन्न गर्नुपर्ने भए पनि कामले भने गति लिन सकेको छैन। धनगढीका सडकमा भौतिक संरचना खाली नहँुदा समस्या भएको छ भने गोदावरीमा खेतैखेत सडक लैजान खोज्दा झमेला सिर्जना भएको कालिका कन्स्ट्रक्सनका प्रतिनिधि खरेलले बताए। ‘गोदावरी नगरपालिका क्षेत्रमा धेरै समयस्या छैन। तर पहिलेको डिजाइन परिवर्तन गर्दा समस्या भएको छ। बस्तीमा सडक नभएको भन्दै स्थानीयले बिरोध गरेका छन,’ उनले भने।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस