सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको छाङ्गरु र टिंकरमा जनगणना हुने, पैदलै जाँदैछन् गणक

फोटो: अशोक सिंह बोहरा
फोटो: अशोक सिंह बोहरा
२०७८ मंसिर २, ०४:४८ कमल सावद

धनगढीः दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङ्गरु र टिंकर गाउँको जनगणना गर्न गणकहरुको समूह हिँडेका छन्। क्रमशः ३२ सय मिटर र ३६ सय मिटरको उचाइमा पर्ने यी दुई स्थानका लागि भन्दै जिल्ला सदरमुकामबाट २ जना गणकको समूह बिहीबार भारियासहित ४ दिनको पैदल यात्रामा निस्किएको जिल्ला तथ्यांक कार्यालले बताएको छ। 

सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीले भने, ‘भारतीय भूमि प्रयोगको अनुमति नपाएको भनियो। पैदल भएपनि गएका छन्। बाटो जोखिमपूर्ण छ तर पनि उहाँहरु भरिया लगेर जानुभएको छ। हिँड्ने मानिसका लागि ४ दिनको यात्रा हो।’

भारतीय प्रशासनले दार्चुलाको छाङ्गरु र टिंकरमा जनगणना गर्न जाने समूहलाई आफ्नो भूमिको प्रयोगमा रोक लगाएको थियो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धार्चुलाबाट छियालेक–गब्र्याङ हुँदै महाकाली नदीको पुल (सीता पुल) तरेर छाङरु जाने गरी पासको व्यवस्था मिलाउन कात्तिक २५ गते भारतीय प्रशासनलाई पत्राचार गरेको थियो। तर, बुधवार सडक मार्ग अवरुद्ध भएको बहाना गर्दै भारतीय प्रशासनले आफ्नो भूमि प्रयोगमा रोक लगाएको थियो। 

सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले मंगलबार र बुधबार पुनः दुई पत्र पठाइएकी थिइन्। ‘भारतीय प्रशासनले सडक मार्ग अवरुद्ध भएको जवाफ पठाएको छ’, उनले भनिन्, ‘भारतीले सडक अवरुद्ध घएको भन्दै पत्र पठाएको छ। अब नेपाली भूमिको प्रयोग गर्दै गएका छन्। गणकहरुलाई ४ दिन छाङ्गरु र टिंकर पुग्नै लाग्छ।’

गणकहरुलाई भारतीय भूमिको प्रयोग गर्न दिइएको भए उनीहरु १ दिनमै ती दुई गाउँमा पुग्नसक्ने स्थानीयले बताएका छन्।


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस