सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष्प व्यवसायमा राज गरिरहेका धनगढीका पुष्पराज

२०७८ कार्तिक ३०, ०५:१८ खबर संवाददाता

धनगढी: कैलालीका व्यवसायी पुष्पराज पन्त २०५७ सालमा कञ्चनपुरबाट कैलाली आएका थिए। कैलालीमा आएपछि उनीमा पुष्प व्यवसाय गर्नुपर्छ भन्ने सोच आयो। त्यो समयमा पुष्प व्यवसाय त्यति धेरै फस्टाउने बजार नदेखेपछि उनले घरआँगनमै फूल रोपे। तर २०६३ सालदेखि भने उनले गायत्री नर्सरी नाम राखेर फूलको व्यवसाय सुरु गरे।  

फूललाई पनि व्यवसायीक रुपले बेच्न सकिन्छ भन्ने सोच आम नेपालीमा नभएको बेला उनले यो क्षेत्रमा गजबको सम्भावना देखे। उनले आफ्नो व्यावसायिक यात्रालाई अहिलेसम्म पनि पुरस्कृत बनाउँदै लगेका छन्। कृषि सम्बन्धी कुनै पनि औपचारिक शिक्षा नलिएका उनी वाणिज्य क्षेत्रका विद्यार्थी हुन्। उनले अहिले केवल पुष्प व्यवसाय मात्रै गरिरहेका छैनन्। पुष्पराजले भेडे खुर्सानी जस्ता कृषिजन्य उत्पादन पनि गरिरहेका छन्। त्यसो त पुष्प व्यवसायमा जोडिनुपूर्व भैँसीपालन गरेर दुग्ध व्यवसाय गरेको अनुभव पनि उनीसँग नभएको हैन। 

तर पुष्प व्यवसाय नै किन भन्ने प्रश्नमा उनी धनगढीका व्यवसायी गोपाल हमाललाई श्रेय दिन्छन्। ‘गोपाल दाई प्रत्येक क्षेत्रमा सफल व्यवसायी हुन् सुदूरपश्चिममा। उहाँले गेटामा दिनेश नर्सरी भनेर पुष्पखेती गर्नुभएको थियो’, पुष्पराज भन्छन्, ‘मलाई लाग्थ्यो नर्सरी त आफैले समय दिएर गर्नुपर्ने काम हो। तर उहाँ आफुले समय दिन नसक्ने भएर मान्छे लगाएर पनि फूलखेती गरिरहनु भएको थियो। मलाई लाग्यो पक्कै पनि पुष्प व्यवसायलाई उहाँले प्रमोट गर्न खोज्नु भएको हो। त्यसले मलाई यो क्षेत्रमा काम गर्ने उत्प्रेरणा मिल्यो।’

त्यो बेला कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश भण्डारी र राजेन्द्र अग्रवालले आफूलाई पुष्प व्यवसायको तालिममा सहभागी गराइदिएको पुष्पराज सम्झन्छन्। ‘म फ्लोरी कल्चर अर्गनाइजेसनसँग जोडिन पुगे। जसले हामीलाई अहिले सहज भएको छ। एक किसिमले उत्प्रेरणाको स्रोत उहाँहरु नै हो।’ उनले भने। 

उनको बुझाइमा सुरुवातको पुष्प व्यवसायमा अन्यभन्दा निकै चुनौती हुन्छ। तर सफल बन्न सबै चुनौतीहरु छिचोल्दै अगाडि बढ्नुपर्ने उनी बताउँछन्। ‘जटिलता आउने बित्तिकै छाडिदिने भन्ने हुँदैन। सफल व्यवसायी हुन गोल हुन्छ, मिसन हुन्छ। कतिपय कुरा सोचेजस्तो नहुन सक्छन्। यस्तो कुरा हामीलाई नआएका होइनन्। हरेक चिजमा उतारचढाव रहन्छन् नै’ उनले भने।

पुष्पराजले सुरुका दिनमा निकै जटिलता आएपनि आफूले हरेस नखाएको बताए। ‘हामीले पनि जटिलता भोग्यौ तर कहिले लागेन कि यो क्षेत्र छोडौ। मलाई भित्रभित्रै विश्वास थियो, भगवानले पुष्पमा नै राज गर भनेर मलाई पठाएको हुन् भन्ने। किनकी मेरो नामै पुष्पराज’ मुस्कुराउँदै उनले भने।

(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा पन्तसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)

कमेन्ट लोड गर्नुस