सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात व्यवस्था कार्यालय धनगढीमा राजश्व बुझाउनै मुस्किल

२०७८ कार्तिक २८, ०६:१४ कमल सावद

धनगढीः  कैलालीको टीकापुरका धनबहादुर चौधरी आइतबार बिहानै यातायात व्यवस्था कार्यालय धनगढी पुगे। बिहान साढे ११ बजेबाट मोटरसाइकल नविकरणका लागि यातायात व्यवस्था कार्यालयमा रहेको बैँकको काउण्टरमा लाइन लागेका उनले दिउँसोसम्म भौचर पाएनन्। बैँकका कर्मचारीले धेरै समय लगाउँदै आएको उनको गुनासो छ। उनले भने, ‘यातायात कार्यालयका कर्मचारी कम भएकाले होला काम ढिलो हुन्छ। कर्मचारी थपिएका भए काम चाँडो हुने थियो होला।’

उनी जस्तै धनगढीका प्रेम मल्लले पनि यातायात व्यवस्था कार्यालय धनगढीले सेवामा ढिलासुस्ती गरिरहेको बताउँछन्। नयाँ सवारी चालक अनुमति पत्रको राजश्व बुझाउन लाइनमा बसेका उनको आइतबार दिउँसोसम्म पनि काम भएको थिएन। बैँकको काउण्टर र कार्यालयको कम्प्युटर फार्टमा कर्मचारीले ढिलासुस्ती गर्दै आएका उनले बताए। ‘काम ढिलो हुँदैछ। मेरो राजश्व बुझाउन बाँकी छ। नेटले काम गरेन भन्छन्’ उनले भने।

यातायात व्यवस्था कार्यालयमा स्थापना गरिएको इन्भेष्टमेन्ट बैँकको काउण्टर र कम्प्युटर फाँटमा कर्मचारीको अभाव देखाउँदै एकै कामका लागि घण्टौ कुर्नुपर्ने बाध्यता रहेको छ। बैँकको काउण्टरमा दुई जना मात्र कर्मचारी छन्। न्यून कर्मचारीका कारण राजश्व बुझाउन समस्या भएपनि कर्मचारी थप गर्न बेवास्ता हुँदै आएको छ। तर कार्यालयले बैँकको काउण्टरमा कर्मचारी थप गर्न आग्रह गर्ने बताएको छ।  यातायात कार्यालय धनगढीका निमिक्त प्रमुख लक्ष्मण शाहले बैँकलाई कर्मचारी थप गर्न आग्रह गर्ने बताए। उनले भने, ‘हामीले साँझसम्म भएपनि काम गर्दै आएका छौ। तर बैँकमा कर्मचारी कम हुँदा समस्या छ। थप गर्न आग्रह गर्छौ।’

सवारी नविकरण, दर्ता, नयाँ सवारी चालक अनुमति पत्रको राजश्व बुझाउन र नविकरण गर्न सेवाग्राहीलाई हैरानी हुँदै आएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस