‘द अपर्च्युनिटी म्यान’ तेजराज
धनगढी: युथ अपर्च्युनिटी एउटा अन्तर्राष्ट्रिय संस्था हो। यसको केन्द्रीय कार्यकाल बंगलादेशमा रहिआएको छ। जसको स्थापना सन् २०१२ मा भएको थियो। यसले युवाहरूले प्राप्त गर्न सक्ने अवसरहरुलाई युवाहरूमा पुर्याउन सहयोग गर्दछ। जस्तो स्वयंसेवी बन्ने अवसर, इन्टर्नशिपको अवसर, जागिरको अवसर आदिको बारेमा विश्व भरिरहेका युवाहरूमा पुर्याउने काम गर्दछ। यो संस्थाले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेको छ।
युथ अपर्च्युनिटीले २०१८ मा एउटा ग्लोबल एम्बेसडर प्रोग्राम भनेर कार्यक्रम गर्यो जसमा नेपाल पनि समावेस थियो। त्यहीँ कार्यक्रमको लागि नेपालको प्रतिनिधित्व गर्न छनोट भएका थिए, धनगढीका तेजराज उप्रेती। विभिन्न पृष्ठभूमिका युवाहरूले आवेदन दिएको भए पनि उनी छनोट हुन सफल भएका थिए। उनले अछिल्लो समय 'द अपर्च्युनिटी म्यान'को नाम समेत पाउन थालेका छन्। सन २०१८ सालमा एउटा अनलाईन कम्युनिटी बनाएका उनले सो कम्युनिटीबाट प्राप्त भएका अवसरहरुको विषयमा जानकारी गराउने गरेका छन्।
उप्रेती धनगढीमै जन्मिए। धनगढीकै विद्यालयमा ७ कक्षा सम्मको अध्ययन गरे। उनले १२ सम्मको अध्ययन भने काठमाडौं गएर गरे। पछि भारत सरकारको छात्रवृत्तिमा पढ्न उनीे ब्याङ्लोर सम्म पुगे। त्यहाँ गएपछि उनले सामाजिक क्रियाकलापमा भाग लिन पाए।
उनी भन्छन्, ‘स्नातक पढीरहँदा त्यहाँ रोट्ट्राक, डब्लूओएसवाइ लगायतका युवा संस्थाहरुमा जोडिएर मैले साना साना कामहरु गर्न थाले। यसबाट मलाई समाजप्रति लगाव पनि हुन थाल्यो। एउटा युवा भइसकेपछि समाजलाई आफुले के योगदान दिन सकिन्छ र अहिले समाजका समस्याहरु के छन् भनेर मैले त्यो अवधिमा बुझ्न पाए। त्यसपछि म सन् २०१५ मा जब नेपाल फर्के त्यसपछि नेपालका ग्रामीण क्षेत्रहरुमा विभिन्न प्रयोजनाहरुमा विभिन्न संघ संस्थाहरुसंग जोडिएर काम गरे। त्यहीँ काम गर्दा गाउँघरको विषयमा सिकाई पनि भयो। विकासको बारेमा पनि एक किसिमको सिकाइ भयो। यस सिकाइले पछि काठमाडौं विश्वविद्यालयबाट विकासमा नै स्नातकोत्तर पनि गरे।’
उनी नेपाल र युवाहरूको विषयमा कयौंपटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेर गएका छन्। अन्तर्राष्ट्रिय मञ्चहरुमा कुराकानी राख्दा र अरुको कुराकानी सुन्दाको अनुभुतीमा कस्तो हुँदोरहेछ भन्ने प्रश्नमा उनी भन्छन् ‘मलाई एकदमै रमाइलो अनुभव भयो। रमाइलो यो अर्थमा कि मैले पनि समाजलाई केही योगदान दिन सकिरहेको रहेछु। किनकी त्यहाँ आएका युवाहरू समाज र देशका लागि केही गरिरहेकाहरु उपस्थित हुन्थे। राम्रो पढेलेखेका युवाहरू, राम्रो सोच भएका युवाहरू उपस्थित हुन्थ्ये। उनीहरुसँग कुराकानी गर्दा, एउटै समाजमा एउटै सोचमा भएको बेला केही फरक सोचहरुसँग जोडिन पुगिने रहेछ। यसले आफुमा पनि विकास भएको महसुस हुँदोरहेछ।’
(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा धनगढीका युवा तेज उप्रतीसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)