प्रहरीद्धारा पहिलो पटक नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय बैतडीको नागरिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न गरेको छ। गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालयले गरेका गतिबिधि र प्रहरीसंग आएका उजुरीका बिषयमा कार्यक्रममा जानकारी दिइएको छ। जिल्ला प्रहरी कार्यालयले बालबालिकालाई कुलतमा लाग्न निरुत्साहित गर्ने उदेश्यले जिल्लाका बिभिन्न ११ बिद्यालयमा सचेतनामूलक कक्षाहरु संचालन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै आत्महत्याको अवस्था बैतडीमा डरलाग्दो रहेकाले यसको निराकरणका लागी सबै सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा प्रहरीको जोड छ। हरेक बर्ष ३०बढि ब्यक्तिले जिल्लामा आत्महत्या गरिरहेको तथ्यांक प्रहरीसंग रहेको छ। आर्थिक बर्ष २०७३÷०७४मा ३६ जनाले आत्महत्या गरेकाछन् भने ०७४÷०७५मा पनि ३१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। यस्तै चालु आर्थिक बर्षको साउन यता १४ जनाले आत्महत्या गरेको बताइएको छ। यस्तै चालु आर्थिक बर्षमा महिला हिंसाका ४८ उजुरीहरु प्रहरीसंग आएको बताईएको छ। पछिल्लो समय प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेयता शान्ती सुरक्षा प्रदानमा सहजता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मदिराका कारण बिभिन्न खाले हिंसा बढिरहेकाले अनुमति पत्रमा भएको नियमानुसार मात्रै मदिरा बिक्रि गर्न प्रहरीले ब्यापारिलाई सचेत गराउनुपर्ने सरोकारवाले बताएकाछन्। यसमा प्रहरीको ध्यान केन्द्रीत भएको डिएसपी नेत्रमणि गिरिले बताए। प्रमुख जिल्ला अधिकारी चन्द्रप्रशाद गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।