धनगढी उपमहानगरले स्थापना गरेको गौशालाका चौपाया भोकभोकै
धनगढी: उपमहानगरपालिकाले वडा नम्बर ७ देवहरियामा स्थापना गरेको गौशालामा २ सय ५० पशुचौपाया छन्। ८ जनाले ती पशुचौपायाको हेरचाह गर्दै आएका छन्। तर अहिले पशुका लागि आवश्यक आहाराको भने अभाव देखिएको छ। पराल अभाव हुँदा समस्या भइरहेको पशुचौपायाको हेरचाहा गर्दै आएका खडक रानाले बताए। ‘एक ट्रली मात्रै पराल आउँछ, यसले पुग्दैन। चराउनलाई पनि ठाउँ छैन। बडो समस्या भएको छ’ उनले दुखेसो गरे।
उपमहानगरपालिकाले पराल खरिद नगरेकाले चौपायाका लागि आहाराको अभाव भएको बताइएको छ। आहारा नभएकाले चौपाया बिरामी समेत हुने गरेका छन्। जंगलमा पनि चरन अभाव छ। आहाराको अभावका कारण बच्चा पाउने गाईहरु बिरामी पर्ने गरेका छन्। गाईको दुध नहुँदा र बाच्छा पाल्न समेत समस्या भइरहेको चौपाया जिम्मेवारी पाएका पृथ्वी रानाले बताए।
उनले भने, ‘पहिले उपमहानगरपालिका आफैले पराल किन्ने भनेको थियो। तर पछि आएर आफैँ किन्न भनेपछि समस्या भइरहेको छ। पराल नहुँदा बच्चा पाउने गाईहरु पनि बिरामी हुँदैछन्। बच्चा पाएका गाइको पाठेघर निस्किने समस्या देखिरहेको छ।’ गाईहरुमा विभिन्न रोगहरु देखिरहेको तर औषधि नभएको समेत उनले बताए। उक्त गौशाला समेत भत्किएको छ। उक्त संरचना भत्किएको एक वर्ष बढी भएको छ। तर उपमहानगरपालिकाले बेवास्ता गरेको छ।
यता धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष सीताराम रानाले भने गाई कम हुँदा संरचना मर्मत नगरिएको बताए। ‘अहिले गौशालामा गाई कम छन्, त्यो संरचना मर्मत गर्नुपर्ने आवश्यक देखिएन’ उनले भने।
करोडको लगानीमा गौशाला स्थापना गरिएको भएपनि सामुदायिक पशुचौपायाको भने मुख्य सडक तथा राजमार्गहरुमा बास छ। चौपाया व्यवस्थापन नभएकाले दुर्घटनाको समेत जोखिम छ। तर छाडा चौपाया व्यवस्थापनमा चासो कसैले लिएको छैन। न त छाडा छोड्नेहरुलाई कारबाही नै गरिरहेको छ।
यस विषयमा वडाअध्यक्ष राना आक्रोशित हुँदै भन्छन्, ‘सडकमा त धेरै चौपाया छन्, के तिनीहरुलाई म टाउकोमा राखेर ल्याऊ ? जानुस न छोड्नेवालासँग किन छोड्यो भनेर सोध्नुस्।’