अविरल वर्षापछि कैलाली–कञ्चनपुरका इँटा उद्योगमा अढाई करोडको क्षति
धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १५ उर्मामा रहेको न्यू गणेश इँटा उद्योगको गोल बर्सातले भत्कियो। कार्तिक पहिलो साताको वर्षाले गणेश इँटा उद्योगमा मात्र २५ लाख बढीको क्षति भएको छ। उद्योगमा चिम्नी बाहेकका सबै भौतिक संरचना भत्किएका छन्। बर्सातले उद्योगमा गरेको क्षतिको मर्मत गर्न अझै समय लाग्ने इँटा उद्योगका सञ्चालक मनोज महतोले बताए। उनले भने, ‘दसैँपछि कामदार खोजेको थिए, पाएन। भारतबाट मगाउनुपर्ने हो। तिहार सकिएसँगै कामदार आउँछन्। उद्योग मर्मतमा २५ लाख जति खर्च लाग्ने देखिएको छ।’
कैलालीमा ७० चिम्नी इँटा उद्योगहरु छन्। ती मध्ये लगभग सबै इँटा उद्योगका भट्टी भत्किएका छन्। कैलालीका इँटा उद्योगमा कम्तिमा एक करोड ५० लाखको क्षति भएको सेती–महाकाली इँटा उद्योग संघका महासचिव मुक्ति सुवेदीले बताए। ‘कैलाली–कञ्चनपुरका पुराना उद्योगहरुमा कम क्षति भएको छ। तर नयाँ उद्योगहरुमा बढी क्षति भएको छ। दुई जिल्लामा क्षतिको अवस्था उस्तै छ’ उनले भने।
उता कञ्चनपुरमा ४५ इँटा उद्योगहरु छन्। कञ्चनपुरमा पनि सबै उद्योगहरुमा क्षति पुगेको छ। कञ्चनपुरमा झण्डै एक करोडको क्षति भएको अनुमान गरिएको छ। उत्पादन सुरु हुने समयमा उद्योगमा क्षति भएकाले व्यवसायी मार्कामा परेका छन्। प्रत्येक इँटा उद्योगमा कम्तिमा पाँच लाखको नोक्सानी भएको उनीहरुले बताएका छन्।
कैलाली–कञ्चनपुरका इँटा उद्योगहरुमा झण्डै अढाई करोडको क्षति भएको सेती–महाकाली इँटा उद्योग संघले जनाएको छ। भारतीय कामदारको भरमा सञ्चालन भइरहेका उद्योगहरुले इँटा उत्पादनमा भने समय लाग्ने बताइएको छ।