सुदूरपश्चिमका बाढीपीडित किसानको तिहार खल्लो
धनगढी : भाइटिकाको दिन धनगढीका किसान दिपक चौधरी दिदीबहिनीहरुका हातबाट टीका लगाएर पिँढीमा आराम गर्दै थिए। चौधरीको निधारमा सप्तरंगी टीका भएपनि अनुहारमा चमक थिएन। वर्षभरी के खाने भन्ने चिन्ता उनलाई थियो। तिहारमा बालबच्चाका लागि खानेकुराको जोहो गरेका उनले वर्षभरी खाने धान बर्सातको पानीले बगाएको भन्दै दुखेसो पोखे। उनले भने, ‘जसोतसो तिहार मनाइरहेका छौँ। तिहारपछि के गर्ने भन्ने चिन्ता बढी छ।’
वर्षाका कारण भएको डुबान र बाढीका कारण किसानहरुले ठूलो क्षति व्यहोर्नुपरेको छ। खेतमा जमेको पानी अझै सुकेको छैन।
कञ्चनपुरमा महाकाली किनारका बस्तीहरुमा त घरमै बाढी पसेको थियो। उनीहरुको घरमा रहेको अन्न सखाप भएको छ। अहिलेसम्म खेतको लेदो र पानी सुकेको छैन। घरमा रहेको अन्न बाढीले सखाप पारेकाले तिहार पनि खल्लो भएको उनीहरुले बताएका छन्। उनीहरुले आफन्तको सहयोगमा तिहार मनाएका छन्। कञ्चनपुरको दोधराचाँदनी नगरपालिका वडा नम्बर १० सुर्खेता टोलका हरेन्द्र सुनारले आफन्त साथीभाइको सहयोगले तिहार मनाइरहेको बताए।
उनले भने, ‘घरभित्रको पनि केही बाँकी रहेन। आफन्तहरु कोही भारत छन्, कोही अन्य ठाउँ। कसैले ५ सय दियो कसैले हजार। उनीहरुको सहयोगले तिहार मनाइरहेका छौँ।’ घरमा अन्न केही नरहेको उनी बताउँछन्। उनले यस्तो विपद्को बेला सरकरले कुनै सहयोग नगरेको दुखेसो गरे।
गत वर्ष कोरोना भाइरसको संक्रमणको त्रासका कारण तिहार मनाइएन। यो वर्ष कोरोना संक्रमणको त्रास कम भएपनि बाढीपहिरोले किसानको तिहार खल्लो बनाएको छ। कार्तिक पहिलो साताको बर्सातले गरेको क्षति लुकाएर भएपनि तिहार मनाएको दोधराचाँदनी नगरपालिका वडा नम्बर १० सुखेता टोलकै चन्द्रा दमाईले बताइन्। उनले भनिन्, ‘घरको अन्न कुहिएर गन्ध आयो। सबै फालिदियौँ। बजारबाटै किनेर तिहार मनाइरहेका छौँ।’
निर्वाचनको समयमा ठूलाठूला आश्वासन दिएका जनप्रतिनिधिहरुले बेवास्ता गरेको गुनासो बाढीपहिरो पीडित किसानहरुको छ।