कैलाली कारागारमा भाइटिका लगाउनेहरुको दिनभर घुइँचो
धनगढी: शनिबार कैलाली कारागारमा दिनभर कैदीबन्दीहरुलाई भाइटिका लगाउनेहरुको भिड थियो। जिल्ला कारागारमा रहेका कैदीहरुलाई भाइटिका लगाउन दिदीबहिनीहरु पुगेका थिए। टीका लगाउन कारागार पुगेका आफन्त गेट बाहिर लाइनमा उभिएका थिए। कारागारमा भएपनि भेटघाट गर्न पाउँदा र टीका लगाउन पाउँदा मनमा उत्साह छाएको एक कैदीकी आफन्त रुपा चौधरीले बताइन। उनने यसपालिको तिहार गत वर्षको भन्दा रमाइलो भएको बताइन्।
जानेर वा अन्जानमा गरिएका अपराधको सजाय काटिरहेका कैदीहरुका आफन्तको मनमा पीडा समेत थियो। घरमै बसेर परिवारसँग तिहार मनाउने रहर भएपनि परिस्थितिले कारागारमा आएर टीका लगाउनु दुर्भाग्य रहेको कागारगार पुगेकी कैदीकी आफन्त पार्वती जोशी बताउँछिन्।
उनले भनिन्, ‘खासै केही उल्लास छैन्। गत वर्ष टीका लगाउन पाएनाँै। यस वर्ष लाउन त पायौँ तर खुसी लागिरहेको छैन। घरमा लगाउने रहर थियो। परिस्थितिले यहाँ आएर लाउनु पर्यो। के खुसी हुन्छ र दाई जेलमा छ।
सरकारले चाडपर्वको समयमा आफन्तसँग भेटघाट गर्न दिने नियम बनाउँदा खुसी भएको समेत उनीहरु बताउँछन्। गत वर्ष कोरोनाका कारण भेटघाट नभएको तर यसपालि भेट्न पाउँदा एकदमै खुसी लागेको रामसेन्यु रानाले बताइन्। उनले दाइ र भाइ दुवै जनालाई टिका लगाएको बताइन्।
गत वर्ष कोरोनाका कारण कैदीहरुले टीका लगाउन पाएका थिएनन्। तर यस वर्ष भने आफन्तको हातबाट टीका लगाएर दसैँतिहार मनाउन पाउँदा कैदीहरु उत्साहित भएको जिल्ला कारागार कैलालीका प्रमुख दरबहादुर थापाले बताए। ‘३ बजेसम्मका लागि मात्रै भेट्न दिने समय तोकिएको थियो। चाप बढी हुँदा ६ बजेसम्म भेट्न दियौँ’ उनले भने। उनले २ सय बढीले भाइटिका लगाएको बताए।
हाल जिल्ला कारागार कैलालीमा ५१० जना कैदीबन्दी रहेका छन्।