सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तिहारको समयमा पनि विद्युत सेवा अवरुद्ध हुँदै, इन्टरनेटको गति सुस्त

२०७८ कार्तिक २०, १०:०४ कमल सावद

धनगढीः नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख जंगबहादुर चन्दले सुदूरपश्चिममा तिहारको समयमा विद्युत सेवा बन्द नहुने बताएका थिए। तर प्रदेशको अस्थायी राजधानी धनगढीमा भने पटक–पटक विद्युत सेवा अवरुद्ध हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। अन्य समयको भन्दा तिहारमा विद्युतको प्रयोग बढी हुने भएपनि प्राधिकरणले बेवास्ता गरेको उपभोक्ताको गुनासो छ। धनगढीकी मिना जोशीले भनिन्, ‘विद्युत जाने, आउने गर्छ। विद्युत नभए इन्टरनेट काम छैन। अन्य समयमा पनि इन्टरनेट जाने गर्छ। इन्टरनेट नचलेपछि मोबाइल फाल्न मन लाग्छ।’

धनगढीमा विद्युतसँगै इन्टरनेटको सेवा समेत सुस्त रहेको गुनासो गरिएको छ। उपभोक्ताले इन्टरनेट बन्द हुने, नेटवर्कले काम नगर्ने लगायतका समस्या आउने गरेको बताएका छन्। प्रायः सबै कम्पनीको नेटमा समस्या आउने गरेको नागरिकले गुनासो गरेका छन्। तर नेपाल टेलिकम तथा अन्य कम्पनीहरुले इन्टरनेट सेवा मर्मत र सुधारका लागि प्राविधिकहरु तयारी अवस्थामा राखिएको वर्डलिङ्ग धनगढी प्रबन्धक कर्ण पनेरुले बताए। उनले भने, ‘कार्यालय खुल्ला छ। मर्मत र रकम भुक्तानीको काम पनि हुन्छ। प्राविधिकको समूह अफिसमा छ। फोन आयो भने मर्मतमा जान्छछन्।’

विद्युत र इन्टरनेट सेवामा समस्या आए प्राविधिकहरु तैनाथ राखिएको दाबी गरिएपनि दुवै सेवा प्रभावकारी हुन नसकेको पाइएको छ। सर्वसाधारणले हरेक दिन विद्युत र इन्टरनेट आउनेजाने क्रम नरोकिएको बताएका छन्। तर नेपाल टेलिकम धनगढीका प्रमुख सरोज मल्लले प्राविधिकको समूह तयारी अवस्थामा रहेको बताए। उनले भने, ‘तिहारमा पनि कर्मचारीहरु छन्। उहाँहरु काममै छन्। फोन आयो भने उहाँहरु मर्मतका लागि जान्छन्।’

तर धनगढी लगायतका क्षेत्रमा अनियमित विद्युत कटौतीले उपभोक्ता समस्यामा परेका छन्।  तिहारमा अन्य समयको भन्दा अनियमित विद्युत कटौती र इन्टरनेट सेवा पनि पटक–पटक अवरुद्ध भइरहेको उपभोक्ताको गुनासो छ।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस