सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी भएको थियो सुदूरपश्चिममा पुष्प व्यवसायको सुरुवात

२०७८ कार्तिक १९, ०५:४९

-गोपाल हमाल
तिहार फूल, झिलिमिली बत्ती र सप्तरंगी रंगको पर्वका रूपमा चिनिने भएकाले यतिबेला सबैलाई आफ्नो घर–आँगन सजाएर आकर्षक बनाउने रहर हुन्छ। तिहारको समयमा मखमली, सयपत्री, गोदावरी लगायत फूलको प्रयोगबाट घरको आकर्षण बनाउने गर्दछन्। दिदीबहिनीले दाजुभाईलाई भाइटिकाको दिन मखमली, सयपत्री, गोदावरीलगायतका फूलमाला पहिर्‍याउने भएकाले पनि तिहारमा फूलको महत्व अझ बढी देखिन्छ। 

तिहारलाई फूलैफूलको पर्वको रुपमा पनि लिने गरिन्छ। तिहारमा फूलको माग बढेसँगै पछिल्लो समयमा उत्पादनबारे पनि बहस हुन थालेको छ। तिहार बाहेक अन्य समयमा पनि फूलको माग बढ्दै गएको छ। तर सुदूरपश्चिममा व्यावसायिक रुपमा फूलको उत्पादन भने अझै हुन सकेको छैन। फूल निर्यात गरेर आयआर्जन बढाउन सकिने आधार हामीसँग हुँदाहुँदै पनि विडम्बना भन्नुपर्छ, वर्षेनि आयात गरेर मात्र हाम्रा चाडपर्वदेखि मेला महोत्सवका मञ्चहरु सजावट गर्नुपर्ने बाध्यता अझै उस्तै छ। 

कैलाली उद्योग वाणिज्य संघले २०६३ मा पहिलोपटक सुदूरपश्चिम महोत्सवको आयोजना गर्दा मञ्च सजावट गर्न आवश्यक पर्ने फूल सुदूरपश्चिमा पाउन निकै समस्या भएपछि भारतको लखनऊबाट खरिद गर्नुपरेको तितो यथार्थ हामीले भोगेका थियौँ। मञ्च सजावटदेखि अतिथिहरुलाई स्वागत गर्न समेत फूल आयात गर्नुपर्ने अवस्था देखेर दुःखित हुनु परेको थियो। आन्तरिक रुपमा फूल पाउन समस्या भएपछि उद्योग वाणिज्य संघले तात्कालिन उपाध्यक्ष राजेन्द्र अग्रवाललाई लखनऊ पठाएर फूल ल्याउनुपर्ने अवस्थाले हाम्रो मनमस्तिष्कलाई घोचेको थियो। त्यो बेला महोत्सवका लागि मात्र १ लाख ८५ हजार भारतीय रुपैयाँको फूल तथा माला आयात गरेका थियौँ। 

आन्तरिक उत्पादन नभएकै कारण छिमेकी मुलुक भारतबाट फूल ल्याउनुपर्दा यो बाध्यतालाई हटाउने अठोट हाम्रा मनमा उब्जियो। महोत्सवलाई निरन्तरता दिने विषयमा हामी ढुक्क थियौँ। अनि अर्को वर्षदेखि सुदूरपश्चिममा नै फूल उत्पादन गर्ने योजनासहित कैलाली उद्योग वाणिज्य संघले नेपाल पुष्प व्यवसायी महासंघलाई सम्पर्क गर्‍याे। सुदूरपश्चिममा पनि फूल उत्पादन गर्न सक्ने किसान तयार गर्ने हाम्रो प्रमुख उद्देश्य रहेको हामीले उहाँहरुलाई सुनायौँँ।

व्यावसायिक पुष्प खेती गर्न के–के गर्न सकिन्छ भनेर हामीले उहाँहरुसँग काठमाडौं गएर परामर्श गर्यौं। पुष्प खेती सुदूरपश्चिममा गर्न सकियोस् भन्ने चाहना हाम्रो थियो। फूल उत्पादन धनगढीमा होस् अनि त्यो फूल महोत्सवको मञ्चमा प्रयोग गर्न मिलोस् भन्ने चाहना थियो। पुष्प व्यवसायी महासंघले प्राविधिक ज्ञान र सीप प्रदान गरे सुदूरपश्चिममा पुष्प खेती गर्ने किसान जन्माउने इच्छा हामीले उहाँहरुलाई सुनायौँ।

हाम्रो प्रस्ताव सुनेर पुष्प व्यवसायी महासंघले धनगढीमा नै आएर पुष्प खेती गर्न चाहने किसानलाई तालिम दिन सहमती जनायो। स्वयम् अध्यक्ष पनि धनगढी आएर यहाँका इच्छुक किसानलाई ४५ दिनको निःशुल्क तालिम दिएको थिए। पुष्प व्यवसायी महासंघले तालिम दिन जनशक्ति पठायो। उहाँहरुले तालिम दिएको पैसा लिनु भएन। हवाइ टिकट र खाने बस्ने व्यवस्था भने उद्योग वाणिज्य संघले गरेको थियो। हामीले प्रशिक्षार्थीलाई खाजा खुवाएरै तालिम दिने काम गरेका थियौँ।

तालिम लिएका प्रशिक्षार्थीले उत्पादन गरेको फूलको बजारको खोजी पनि गर्नुपर्छ भनेर हामीले सुदूरपश्चिममा उत्पादन भएको फूलहरु काठमाडौं पठाउने सुनिश्चतता पनि गरेका थियौँ। किसानले उत्पादन गरेका फूल काठमाडौं पठाउदा लाग्ने भाडा उद्योग वाणिज्य संघले तिर्ने व्यवस्था मिलाउने गरी काम गरेका थियौँ। त्यसपछि दोस्रो वर्षदेखि भारत गएर फूल किनेर ल्याउनुपर्ने बाध्यता हट्यो। तालिम पाएका किसानले उत्पादन गरेको फूलबाटै हामीले मञ्च सजाउने काम गर्यौँ। त्यसपछि लगभग ५ वर्षसम्म महोत्सवमा हामीले फूलको समस्या भोग्नु परेन।

सुदूरपश्चिममा फूल उत्पादनको सम्भावना निकै राम्रो छ। देशका मूख्य सहर र भारतको राजधानीमा फूलको बजार सजिलै पाउने अवस्था छ। अहिले फूलको उत्पादन घटेको छ तर माग भने दिन प्रतिदिन बढेको छ। यस्तो अवस्थामा सरकारले फूलको उत्पादन बढाउन किसानलाई सहयोग गर्नुपर्ने देखिन्छ।

फूलको उत्पादन वर्षभरी गर्न सकिन्छ तर बजार नपाएर किसानले उत्पादन गर्न नचाहेको हुनसक्छ। त्यसतर्फ सरकारी पक्षले सोच्नुपर्छ। हामीले वर्षभरी फूल उत्पादन गर्न सकिन्छ तर बजार कहाँ छ त भनेर पनि खोजी पनि गरेका थियौँ। यहाँ उत्पादन भएका फूलको बजार काठमाडौं हो। भारतमा पनि सरकारी तहबाट प्रयास गरिए सजिलै बजार पाउन सकिन्छ। तर त्यसका लागि सरकारी प्रयास हुनु भने जरुरी छ। तर अहिले भने सुदूरपश्चिममा फूलको उत्पादन गर्न छोडिएको छ।

फूल चाडपर्वमा मात्र होइन जन्मदेखि मृत्युसम्म नभइनहुने बस्तु हो। फूल आयातमा मात्र वर्षेनि करोडौँ रुपैयाँ बाहिरिने गरेको छ। फूल खेतीको व्यावसायिक सम्भावना हुँदाहुँदै पनि सरकारी दृष्टि पुगेको देखिँदैन। आन्तरिक रुपमा फूल उत्पादन गर्ने र प्रोत्साहन दिने कार्यक्रम कहिँकतै देखिँदैन।

भारत तथा चीनमा निर्मित प्लाष्टिकका मालाहरुले यतिबेला फूलको बजार लिइरहेको छ।प्लाष्टिकका मालाकाे प्रयोगले एकातर्फ ठूलो रकम विदेशिने क्रम बढेको छ भने अर्कोतर्फ प्लाष्टिकका कारण प्रदूषण बढ्दो छ। बढ्दो प्लाष्टिक वातावरणीय प्रदूषणको मुख्य कारक बनेको छ। फूलहरुको बढ्दो प्रयोग र मागलाई मध्यनजर गरेर  प्रदेश र स्थानीय सरकारले किसान लक्षित प्रभावकारी योजना ल्याउनु पर्छ।स्थानीय र प्रदेश सरकारले गम्भीर भएर पुष्प व्यवसाय प्रवर्धन गर्ने हो भने अझै पनि फूल उत्पादन गरेर निर्यात गर्न सकिन्छ। प्लाष्टिकका फूल तथा माला आयातका कारण यसको असर मुलुकको जीडीपीमा समेत परेको छ। विदेशी प्लाष्टिकका फूलहरुलाई निरुत्साहित गर्ने नीति लिएर आन्तरिक फूल उत्पादन बढाउन स्थानीय र प्रदेश सरकारले ठोस कार्यक्रम ल्याउन जरुरी छ। 

फूलको प्रयोग तथा उत्पादनलाई बढाउन सरकारी तवरमा गर्न सकिने सबै प्रयास गरिए स्वरोजगारसँगै उद्यमशीलताको समेत विकास हुने सम्भावना रहेको छ। 

(लेखक हमाल सुन्दर सुदूरपश्चिम अभियानका अभियानकर्ता तथा कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।)

कमेन्ट लोड गर्नुस