सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउडा संरक्षणमा दार्चुलाको दुहुँ व्याँस

२०७५ पुष ७, ०४:३७ नरेन्द्र कार्की

कातन्थे भाङ्गो धागी,
बुडन्थ्या, बोदला पाखी
यो हमरो संस्कृतिलाई
जोगाउनु पर्छ, भागी

अहिले दार्चुलाको उत्तरी क्षेत्र दुहुँ र व्यास गाउँपालिकाका नागरिक परम्परागत देउडा संस्कृति संरक्षण अभियानमा जुटेका छन् । परम्परागत रुपमा लगाइने लूगा र गाइने यी देउडा भाका संरक्षणको लागि व्यास र दुहुँ गाउँपालिकाका युवाहरु जुटेका हुन् । मौलिक संस्कृति, आफ्नै भेषभुषासहितको पहिरन लोप हुन थालेपछि सामाजिक संघसंस्थामार्फत संरक्षण अभियान थालिएको छ । दुवै गाउँपालिकामा रहेका परम्परागत भाकाका देउडा, पहिरन र बाजागाजासहित संरक्षण अभियान थालिएको दुहुँ व्याँस पर्यटन विकास समाजका संस्थाका सचिव निरज बहादुर वमले बताए ।

 

दुहँु क्षेत्रमा परम्परागत रुपमा गाइने ठाडो भाकाको देउडा गञ्जा छलिया, हुड्केउली र सरौ जस्ता भाषामा देउडा लगाइने गरेको छ । दुहुँ गाउँपालिकामा सरौ देउडा भाषाको नाच बढि प्रख्यात छ भने व्याँस क्षेत्रमा व्यासी सौका समुदायको संस्कृति, ठाडो भाकाका देउडा प्रख्या रहेको देउडा भाकाका देउडिया हुतीका पिरा कुवरले बताइन् । विगतमा बुढापाकाहरु देवताको नाम, ठाउँ विशेषको नाम र लगाइने लूगा पहिरनबाटै देउडा गाउँथे । विशेषतह ठाडो भाकामा गाइने गीतहरु अहिलेको पुस्ताले छोड्दै गएकोले पनि बुढापाकाहरुले परम्परागत पहिरनमा देउडा देखाइएको कुवरको भनाई छ ।हराएको रीतिरिवाज संस्कृति हामीले जर्गेनागर्न सकेनौ भने भावि पुस्ता पश्चिमा संस्कृति सिक्दै जान्छन्, व्यास ४ सिनाबाट सहभागि भएका देउडिया नारा कुवरले भनिन्, हामी पहिले विदेशी रेडिमेट लगाउँदैन थियौ, गाउँमै उत्पादन हुने भाङ्गोको लोक्ता, अल्लो उनबाट बुनेका कपडा पहिरन हुन्थ्यो, त्यहि देखायौ । हातले बुनिने कपडा चिसोमा उपयुक्त हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पनि यो लुगा फाइदा जनक थियो, कुवरले गीतमार्फत सुनाइन् । अहिले विगतमा धागो काट्ने चर्का, तक्को, भाङ्गोबाट बुनिने बोदला, जस्ता लुगा अहिले कम हुन थालेकोमा चिन्तीत छौ । उनले सुनाइन्, अहिलेको पुस्तालाई यो पूरानो पहिरन नयाँ लाग्छ, त्यसको लागि क्लवले आयोजनागर्ने संस्कृति बचाऔ अभियानले सकारात्मक सन्देश जानेछ ।

यस्तै व्याँस गाउँपालिकाको वडा नम्बर १ र २ मा बसोबास रहेको व्यासी सौका समुदायको भेषभुषा र पहिरन भिन्नै छ । सौका समुदायको आफ्नै रङ भाषा छ । उनीहरुको समुदायबीच कुराकानी हुँदा यो भाषाको प्रयोग अनिवार्य जस्तै छ । जसको कारण अहिले पनि बालबालिकाले यो भाषा सजिलै बोल्ने गर्छन् । व्यासी महिलाहरुले लगाउने पहिरन चुङ्वाला हो । यो उनको कपडाबाट बनाइन्छ । महिला पहिरनको रुपमा लगाइने यो कपडा बनाउन झण्डै अढाइ महिना बढि समय लाग्ने गरेको व्यासी सौका समाजका अध्यक्ष एसोदा तिंकरीले बताइन् । सात देखि १० दिनसम्म रङ लगाउनमै वित्छ । मेहनत बढि लाग्ने गर्छ । यस्तै पुरुषले लगाउने कपडालाई राङ्घा भनिन्छ । राङ्घा कुर्ता पहिरन जस्तै हो । उनबाटै निर्मित हुने यो कपडा प्राय सेता नै हुन्छ । यस्तै पुरुषले कम्मरमा बाध्ने पट्कालाई व्यासी सौका भाषामा जीउ ज्याङ भनिन्छ । भने टाउँको बाधिने पाग पगडीलाई सौका भाषामा बन्ठलो भन्ने चलन छ ।

झण्डै दुई हजार जनसंख्या रहेको व्यासी सौका समुदायको दार्चुलाको छांगरु तिंकर, राप्ला र सितोला गरी चार गाउँमा बसोबास छ । यिनीहरुले लगाउने पहिरनको जर्गेना हुन नसकेको व्यासी सौकासमुदाय बताउँछन् । भाषा प्राय लोभ भएको छैन, व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले भने तर लगाउने पहिरन बुन्ने मानिस कम हुँदै गएका छन् । दुहुँ र व्यासको धेरै संस्कृति हुँदा हूँदै पनि संरक्षण हुन नसक्दा अहिले आएर स्थानीय सरकारकै सहयोगमा संरक्षण अभियान थालिएको अध्यक्ष बुढाथोकीको भनाई छ । यस क्षेत्रमा दमाहा, जोल, मिजार बजाइन्छ । गौरापर्व, यस क्षेत्रमा लगाइने जोगिने जात, चाडपर्व र खासगरी गञ्जा यहाँको पहिचान हो । विगतमा गौरा पर्वमा गाइने ठाडो भाका, व्यासीहरुले गाउँने भाषा, दुहुँको सरौ नाँच लगायतमा गाइने ठाडो भाकाको महत्व छुट्टै छ, संस्कृति जगेर्ना अभियानमा लाग्नुभएका निरज बहादुर वमले भने, हाम्रो पुस्ताले संरक्षण नगरे भावी पुस्तासम्म यो पुरै लोप हुन्छ ।

विगतमा लगाइने पहिरन अहिले गाउँमा पाइदैन् । भेडा बाख्रा पालन कम हुँदै गयो । भाङ्गो अल्लो निकाल्नै छोडियो, घाङरो चोलो लगाउने युवा पुस्ता देखिदैन, जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीले भने, म यही दुहुँ गाउँपालिकामा बस्छु, विगतमा लगाइने लुगाको महत्व कति थियो, अहिले पुरै बजारको रेडिमेट कपडा मात्रै पाइन्छ । अहिले स्थानीय सरकारको सहयोगमा संघसंस्थाले परम्परागत संस्कृति जोगाउने अभियान सकारात्मक छ– उनले भने । संस्कृति र परम्परा बचाउन सके मात्रै पहिचान यथावत हुनेमा अधिकांशको जोड छ । अहिलेको युवा पुस्ताले परम्परागत संस्कृति जोगाउन थालिएको अभियानमा सबैले सहयोग गरे संस्कृति, पहिचान र मौलिकता जगेर्ना गर्न सकिन्छ ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस