मन्त्री दीपक मनाङेको अनौठो सम्पत्ति विवरण, ऋण नलिँदै तिरेको देखाए
धनगढीः गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले करिव ५ महिनापछि सम्पत्ति विवरण बुझाए। ६० दिनभित्रै विवरण बुझाउनुपर्नेमा उनले ढिलो गरेर मुख्यमन्त्री कार्यालयमा पठाएका हुन्। मनाङेको सम्पत्ति विवरण अनौठो किसिमको छ। उनले ऋण लिनुअघि नै तिरेको देखाएका छन्।
उनले विसं २०७३ मा कर्म गुरुङबाट ४० लाख लिएको देखाएका छन्। २०७७ मा रमेश रानाबाट ४० लाख र २०७३ मा मनाङ फलफूल सप्लायर्सबाट ६० लाख लिएका छन्। तर उनले २०७१ सालमै २ करोड ३५ लाख र २०७२ मा २ करोड ३५ लाख ऋण तिरेको देखाएका छन्। विवरणअनुसार मनाङेसँग ३ करोड ३० लाख सापटी दिएको देखिन्छ। तर उनले ऋण दिएको नभई तिरेको भनेर बुझाएका छन्। त्यसैले मनाङेको विवरणमा तथ्य मिलेको छैन। उनले ऋण लिएको नदेखाई तिरेको मात्रै देखाएका छन्। जग्गाको विवरण पनि स्पष्ट छैन।
विभिन्न ४ कित्तामा उनले जग्गा देखाएका छन्। काठमाडौंको धर्मस्थलीमा ३ कित्ताको २ रोपनी ५ आना अर्काको नाममा रहेर आफुले बैना गरेको भनेका छन्। पदमपोखरीमा संयुक्त भनेर ३ रोपनी देखाएका छन्। त्यसपछि ६ कठ्ठा छुट्टै, १ रोपनी ९ आना छुट्टै र १५ आनाको छुट्टै हिसाव गरेका छन्। उनले कुनैपनि जग्गा आफ्नो नाममा देखाएका छैनन्। उनको झुक्याउने खालको विवरणका कारण शुरुमा उनको ऋण ६ करोड भनेर ब्याख्या गरिएपनि पछि अध्ययन गर्दै जाँदा उनीसँग ऋण भन्दा धेरै धन देखिएको छ।