सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको ढुंगाडमा कार्यवाहक प्रधानमन्त्री खाँड, स्थानीयले बुझाए ज्ञापन पत्र

२०७८ कार्तिक १७, ०१:३२ खबर संवाददाता

धनगढीः बैतडीको ढुंगाडमा बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा पुगेका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन्। 

बुधबार दिउँसो ढुंगाड पुगेका गृहमन्त्रीलाई स्थानीयहरुले सेतीको बाढीले क्षति पुर्याएकाले आफूहरुको पुनर्वासको व्यवस्था मिलाउन माग गरेका छन्। जवाफमा गृहमन्त्री खाँडले बाढी प्रभावित समुदायको सहयोगका लागि सरकारले बिशेष व्यवस्था गर्ने बचन दिएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए। गृहमन्त्रीले स्थानीयहरुलाई सम्बोधन गर्दै भने ‘यो क्षेत्रमा बाढी पहिरोले पुर्याएको क्षतिका बिषयमा स्थलगत जानकारी भएको छ। यहाँका नागरिकको पुनस्र्थापनाका लागि बिशेष राहत कोष बनाएर सरकारले काम अघि बढाउँछ।’

गृहमन्त्रीले प्रभावित क्षेत्रका नागरिकहरुको छिट्टै राहत प्याकेज ल्याउने घोषणा समेत गरेका छन्। यस्तै ढुंगाडबासीले पश्चिम सेती जलविद्युत आयोजनाको काम समेत अघि बढाउन आग्रह गरेका छन्। सोही योजनाका कारण ढुंगाड क्षेत्रमा विकास नभएको र योजनाको काम समेत अघि नबढ्दा समस्या भएको बिषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको स्थानीयले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस