दार्चुलाका मजदुरहरु ज्याला नपाउदा आक्रोशित
मार्मा गाउँपालिका वडा नं ३ मा निर्माण गरिएको स्वास्थ्य चौकी भवन निर्माणका मजदूरले निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि ज्याला पाएका छैनन्। एक वर्षअघि निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनका अधिकांश मजदूरले कामबापतको ज्याला नपाएका हुन्।
विसं २०७२ भदौमा शुरु भएको स्वास्थ्य चौकी भवन निर्माण २०७४ मङ्सिरमा निर्माण सम्पन्न भएको थियो। कूल रु एक करोड ८४ लाख लागतमा निर्माण भएको आवाससहितको भवनमा काम गर्ने मजदूरले अहिलेसम्म ज्याला नपाएको गुनासो गरेका हुन्।
भवन निर्माणका मिस्त्री, डकर्मीले कामबापतको ज्याला नपाएको डकर्मी रतनसिंह धामीले बताए। उनले भने, ‘‘दैनिक रु ७०० मा काम गरेका हौँ, तर अहिलेसम्म निर्माण व्यवसायी सम्पर्कमा छैनन्। आफ्नो मात्रै काठको काम गरेबापत रु ४५ हजार लिन बाँकी छ।’’ काम गरेका रकम नपाउँदा घरायसी खर्च धान्नसमेत धौधौ परेको उनले सुनाए।
उक्त स्वास्थ्य चौकी भवन निर्माणमा काम गर्ने मजदूर तथा मिस्त्री डकर्मीको गरी झण्डै रु १४÷१५ लाख तिर्नै बाकी रहेको कामदार बताउँछन्। निर्माणको जिम्मा पाएको बङ्गलामुखी कन्सटक्र्सनले अहिलेसम्म आफूहरुको रकम भुक्तानी नगर्दा दैनिक छाक टार्नै समस्या भएको धामीले बताए।
एक वर्षसम्म काम गरेको ज्याला नपाउँदा परिवार पाल्नै समस्या भएको मजदूरहरु बताउँछन् । काम गरी खाने मजदूरको रकम नतिरेर ठेकेदार सम्पर्कविहीन भएको उनीहरुको गुनासो छ।
निर्माण व्यवसायी प्रतिनिधि इन्द्रसिंह ऐरी मजदूरको ज्याला तिर्न नसकिएको स्वीकार गरे। “मैले काम गराएको रु तीन÷चार लाख दिन बाँकी छ। स्वास्थ्य चौकी भवन निर्माणमा झण्डै रु ५० लाख घाटा भयो। एउटै ठाउँमा लाखौँ रकम घाटा भएपछि अहिले निर्माण कम्पनी टाट पल्टेको छ। घरबाट लगेर दिनलाई रकम छैन” उनले भने।
भवन निर्माण गरेको एक वर्षसम्म पनि स्थानीय तहलाई भवन हस्तान्तरण गरिएको छैन। भवन हस्तान्तरण नहुँदै अहिले स्वास्थ्य चौकी नयाँ भवनमा सरेको छ। भवन जीर्ण हुन थालेपछि स्वास्थ्य चौकी नयाँ भवनमा सारिएको अहेव गोविन्द जोशीले बताए। रासस