कैलालीमा हुलाकी सडक ४ लेनमा स्तरोन्नति गर्ने कार्य ठप्प
धनगढीः कैलालीको ६९ किलोमिटर हुलाकी सडक स्तरवृद्धिका लागि गत वर्षको माघ २ गते ठेक्का सम्झौता भएको थियो। धनगढी उपमहानगरपालिका क्षेत्रको ३ किलोमिटरसहित लम्की र टीकापुर क्षेत्रमा सडक ४ लेनमा विस्तार गर्ने योजना पनि थियो। केही क्षेत्रमा सडकको नाली निर्माणको काम जारी रहेपनि अधिकांश क्षेत्रमा काम बन्द गरिएको छ। हुलाकी सडक योजना कार्यालयका सूचना अधिकारी पदम मडैले बर्सातका कारण काम न्यून भएको बताए। दसैँ तिहारका कारण सबै क्षेत्रमा काम नभएको उनले बताए।
धनगढी उप–महानगरपालिकाको क्याम्पस चोकदेखि मनहेरास्थित कालिका मन्दिर सम्मको ३ किलोमिटर सडकलाई ४ लेनसहित अन्य खण्डलाई दुई लेनमा विस्तारको ठेक्का गरिएको थियो। बसन्ता सम्मको २८ किलोमिटर र बसन्तादेखि सत्तीसम्मको बाँकी १३ किलोमिटर, लम्की–टीकापुर–सत्ती २८ किलोमिटर सडक खण्ड २ लेनमा स्तरवृद्धिको काम थालिएको थियो। तर अहिले काम अलपत्र छाडिको छ। तर खड्का कृष्ण कन्ट्रक्सनका प्रतिनिधि ओमकान्द बेलवासीले भौतिक संरचना निर्माणको काम जारी रहेको बताए। उनले भने, ‘माटो भरानको काम भएको छैन। केही क्षेत्रमा वाल निर्माणको काम हुँदैछ। तिहारपछि काम हुन्छ।’
लम्की–टीकापुर सडकखण्डको २ किलोमिटर क्षेत्रमा भने शहरी विकासले निर्माणका लागि ठेक्का गरेको छ। अन्य क्षेत्रको सडकको स्तरवृद्धिका लागि हुलाकी सडक राजमार्ग निर्देशनालयले गत माघ २ गते ठेक्का सम्झौता गरेको हो। भारतले निर्माण गरी हस्तान्तरण गरेको हुलाकी सडककोे चौडाई ३ दशमलव ७५ मिटर मात्रै रहेको छ।
धनगढीको तीन किलोमिटर १४ मिटर र बाँकी दुई लेनमा विस्तार गरी सात मिटर चौडामा स्तरवृद्धी हुँदैछ। सडकको क्षेत्राधिकार ३० मिटर कायम गरिएको छ। धनगढीमा कल्भर्ट निर्माणमा विवाद भएपनि अन्य क्षेत्रमा भने समस्या छैन। तर निर्माण कम्पनीले कामलाई गति दिन सकेका छैन। तर खड्का कृष्ण कन्ट्रक्सनका प्रतिनिधि ओमकान्द बेलवासीका अनुसार लम्कीमा २० प्रतिशत, धनगढीमा २० प्रतिशत, क्याम्पसचौक–मोहनापुल ९० प्रतिशत भौतिक प्रगति भएको छ।
कैलालीमा सात खण्डमा सडक स्तरवृद्धि हुँदैछ। यस्तै हुलाकी सडकको कैलाली खण्डका अन्य पुल निर्माणको काम पूरा भएपनि कान्द्रा नदीको पुल निर्माणको काम भने अलपत्र छ। धनगढीमा २ पुल निर्माणका लागि भने अझै ठेक्का भएको छैन।