धनगढीमा ४ वर्ष पहिले ‘अनलाइन केक सप’को सुरुवात गर्ने गणेश
धनगढी: गणेश बहादुर धामीले ख्याल ख्यालमै समय व्यतीत गर्न दिमागमा आएको सामान्य अवधारणालाई प्रयोगमा ल्याए। त्यो अवधारणा थियो ‘धनगढी अनलाईन केक सप’ नामक फेसबुक पेज बनाउने। करिब ४ वर्ष पहिले फेसबुकमा एउटा पेज बनाएका उनका लागि अहिले आएर त्यो अवसर बनेको छ। सुरुमा आफ्ना साथीहरूलाई इन्भाइट गरेर पेज लाइक गर्न सहयोग मागेर आफ्नो व्यावसायिक यात्राको थालनी गरेका उनी अहिले महिनाको लाखौंको कारोबार गरिरहेका छन्।
शुन्य लगानीबाट आफ्ना साथीभाईको सहयोग मागेर सञ्चालन भएको अनलाइन व्यवसायमा सुरुवातका केही दिनमा अलि समस्या भयो। खासै माग आउँदैन थियो तर पनि आफ्नै वरिपरिका साथीभाईहरूलाई सेवा दिएर भए पनि उनले आफ्नो व्यवसायलाई निरन्तरता दिन छाडेनन्। धनगढीका विभिन्न बेकरीसँग समन्वय गरेर ग्राहकले चाहेकै पसलबाट चाहिएकै डिजाइनमा अहिले भने उनले धनगढीभित्र निःशुल्क र बाहिर केही शुल्क लगाएर केक डेलिभर गरिरहेका छन्।
पारिवारिक व्यवसाय पनि भएका उनको बचपनको सपना पनि व्यवसाय नै गर्ने थियो। तर पनि अनलाइन व्यवसायबारे उनले सोचेका थिएनन्। अहिले प्रवीणता तह पढेर सक्दै गरेका उनको भोलिको सपना पनि व्यवसाय नै गर्नेछ। अनलाइनबाट व्यवसायको बारेमा आम मानिसको बुझाइ भने एकदम कमजोर रहेको उनलाई लाग्छ। ‘अनलाईनलाई लिएर आम मान्छे त्यति सकारात्मक रहेको देखिदैनन्। जसको पनि गुनासो नै रहेको हुन्छ’ उनी भन्छन्, ‘खै पहिला अरुले अनलाइनको दुरुपयोग गरेर त्यसको सिकार बनेर मान्छेमा विश्वास कम भएको हो या उनीहरु विश्वास नै कम गर्छन्।’
उनी आफु पनि अनलाइनबाट नै बस्तु खरिद गर्छन्। उनलाई तपाईं आफु उपभोग्य बस्तु अन्लाईनबाट खरिद गर्नु हुन्छ कि नाईं ? भन्ने प्रश्न गर्दा उनी भन्छन्, ‘म त धेरै जसो अनलाइनबाट नै सामग्री खरिद गर्छु। अनलाइनमाबाट खरिद गरिसकेपछि यदि बस्तु मन परेन भने फिर्ता गर्ने सुविधा पनि हुन्छ। मलाई यो सहज लाग्छ।’
यो व्यवसायको चुनौतिको विषयमा पनि उनको आफ्नो अनुभव छ। उनी भन्छन्, ‘एकदुई चोटी त यस्तोसम्म पनि भोगियो कि ४ हजार भन्दा पनि बढीको समान उहाँहरुले मगाउनुभयो जब हामीले तयार पारेर उहाँले भनेको ठाउँमा गयौं तब उहाँको मोबाईल अफ भन्यो। घर पनि नदेखेको अरु कुनै सम्पर्क नभएको। यसले गर्दा हामीले अलि बढी सावधानी अपनाउनुपर्ने हुन्छ।’
आम रुपमा अनलाइनबाट बढी खरिद गर्र्नेहरुले भने राम्रै व्यवहार गर्ने गणेश बताउँछन्। उनी भन्छन्, ‘९९ प्रतिशतले राम्रै प्रतिक्रिया दिन्छन् तर हामी पनि मान्छे हो कहिले काहिँ गल्ती हुन्छ। स्वभावतः केही गुनासो यस क्षेत्रमा पनि हुन्छ्न नै।’ उनी गल्तिलाई एउटा सिकाइको रुपमा प्रयोग गर्नु पर्ने ठान्छन्।
पढाईलाई निरन्तरता दिँदै गर्दा व्यावसायिक जिम्मेवारीले असर गरेको गणेशलाई लाग्छ। अब यसलाई छोडिदिउ भन्ने लाग्दैन भनेर गरिएको प्रश्नमा उनी भन्छन् ‘यदि परिवारको साथ नभएको भए सायद त्यो सोचाइ आउथ्यो होला। तर परिवार एकदमै सहयोगी र साथीभाइहरु पनि बुझ्ने भएर होला त्यस्तो सोच आउने वातावरणनै बन्दैन।’
(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा, व्यवसायी गणेशबहादुर धामीसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)