जब धनगढीका किशोरलाई बुवाले आफ्नो कथा सुनाए
धनगढी: धनगढीका किशोर बिक्रम मल्ल उद्योगमा भविष्य बोकेर आफ्नो अघिल्लो पुस्ताले गर्दै आएको व्यवसाय सम्हालिरहेका छन्। मल्ल जनरल स्टोर र मल्ल सप्लायर्सबाट उनी वार्षिक करोडौंको कारोबार गरिरहेका छन्। साथै उनले औपचारिक पढाइलाई पनि निरन्तरता दिइरहेका छन्। उनी अहिले कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहममा अध्ययनरत छन्।
कक्षा ६ सम्म धनगढीमा पढेलेखेका उनी स्नातक सम्मको लागि भने काठमाडौं गएर अध्ययन गरेका थिए। प्रवीणता तह विज्ञान संकाय उत्तीर्ण बाट गरेका उनको स्कुले जीवनको सपना भने डाक्टर बन्ने थियो। तर परिवारिक जिम्मेवारी सम्हाल्नको लागि उनले आफ्नो सपनालाई छोडिदिए।
जब उनी एमबीबीएसको तयारी गर्ने भनेर विभिन्न इन्स्टिच्युटहरु धाइरहेका थिए त्यही समय एकदिन उनका बुवाले उनलाई फोन गरेर पारिवारिक व्यवसायका सुरुवातका दिनका कथा सुनाउन लागे, त्यहीबेला उनको मनस्थिति बदलियो।
‘जब बुवा डडेल्धुराबाट भारी बोकी बझाङ लगेर व्यापार गर्नुहुन्थ्यो। व्यवसायको जग हाल्नको लागि कत्रो कत्रो संघर्ष गर्नुहुन्थ्यो। जब त्यो बुवाले मलाई सुनाउनु भयो तब मैले व्यवसायतिर लाग्नुपर्छ भन्ने मनस्थिति बन्नबाट रोक्न सकिन’, उनी भन्छन्, ‘जुन रात उहाँले मलाई यो कुरा सुनाउनु भयो, नलुकाएर भन्नुपर्दा म सुत्न सकिन।’
हुन पनि उनी सुत्न कसरी सक्थे एकातिर एउटा सपना टुट्दै थियो भने, अर्कोतिर केही भविष्यका अवसर र चुनौतीले मन बहकिएको थियो होला। जब उनी स्नातक काठमाडौंमा नै गरिरहेका थिए त्यो समय फेरि उनलाई एउटा अर्को सपनाले छुन पुग्यो। उनलाई संयुक्त राज्य गएर उच्च शिक्षा हासिल गर्ने मन भयो। त्यो पनि त्यति लामो समय टिकेन। उनले पहिले देखिको जिम्मेवारी सम्झेर केही आशा भित्र पलाए। त्यसपछि केही नविनताका साथ धनगढीमा नै केही गर्न सकिन्छ भन्ने अर्को सोच आफुमा निर्माण गरे।
उनी धनगढी फर्केर, एउटा हातले व्यवसाय अर्को हातले औपचारिक शिक्षा ग्रहण गर्न थाले। व्यवसायको सुरुवाती दिन कसरी सम्झनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘सुरुका एक दुई वर्ष व्यवसायमा के भइरहेको हुन्थ्यो त्यहि बुझ्न सक्दैन थिए। तर पछिल्लो एक वर्षदेखि भने म पुरै ध्यान लगाएर व्यवसाय गरिरहेको छु। अहिले सब ठिक छ।’
व्यवसायमा औपचारिक शिक्षाको महत्त्व के छ भनेर प्रश्न गर्दा उनले भने ‘लेखाविधिको प्रयोग धेरै ठाउँमा हुन्छ। अरुबाट लेखा परिक्षण गरेपनि के रहेछ त स्थिति आफुले पनि बुझ्न सकिन्छ। तर अरु सैद्धान्तिक विषयबस्तु भने त्यति धेरै प्रयोगात्मक भएको देखिँदैनन् तर पनि महत्त्व त रहन्छ नै।’