गौरीफन्टा नाका भएर भारत जाने नेपाली यातायात व्यवसायीबाट लुटिँदै
धनगढीः शुक्रबार बर्दियाका विशाल बर्मा त्रिनगर–गौरीफन्टा नाका भएर भारत जाँदै थिए। भारतको मुरदावाद जान उनले धनगढीमा ८ सय रुपैयाँमा बसको टिकट काटे। तर भारतीय बस व्यवसायीले उनलाई लगेनन्। तीन सयको टिकट ८ सयमा खरिद गरेपनि उनी भारत जान नपाएका हुन्। उनीसँग भारतीय यातायात व्यवसायीले पुनः दुई हजार मागेपछि बर्मा अलपत्र छन्। भने, ‘नेपालमा टिकट काटेको हो। तीन सयको ठाउँमा आठ सय लिए। फेरि यहाँ दुई हजार माग्दैछन्। सबै लुट्ने मात्र काम हुँदैछ।’
यसरी चाडपर्वको मुखमा त्रिनगर–गौरीफन्टा नाका भएर भारत जाने नेपाली यातायात व्यवसायीबाट लुटिन थालेका छन्। गौरीफन्टा हुँदै भारत जाने नेपालीहरुले दोब्बर भाडा तिर्नुपरेको गुनासो गरेका गरिरहेका छन्। धनगढीका होटलबाट बिक्री भएका टिकटमा गन्तव्य पुग्नै मुस्किल भएको नेपालीहरुले गुनासो छ।
भारतका विभिन्न शहरका लागि जाने यात्रुहरुबाट यातायात व्यवसायीका प्रतिनिधिहरुले दोब्बर रकम असुल्दै आएका छन्। यातायात व्यवसायीबाट नेपाली ठगिँदै आएको भए पनि कैलाली र कञ्चनपुरको स्थानीय प्रशासन एकअर्कालाई देखाएर पन्छिदै आएको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले धनगढीका होटलहरुबाट गैरकानूनी बसको टिकट काटिँदै आएको बताए। उनले कैलाली प्रशासनले नियमन गर्नुपर्ने बताए। ‘लुटिने सीमा क्षेत्र मात्रै हाम्रो हो। धनगढीका होटलहरुबाट टिकट काटिएको हुन्छ। बसको टिकट काट्नेलाई कारबाही गर्नुपर्छ ’ उनले भने।
धनगढीका होटलहरुबाट बिक्री हुने टिकटको शुल्क चर्को छ। भारतीय बसमार्फत गन्तव्यमा पठाउने भन्दै रकम असुल गर्दै आएका उनीहरुका कारण यात्रुहरुले दुःख पाउँदै आएका छन्।
दसैँको मुखमा नेपालीहरु रोजगारीको खोजीमा भारत जाँदै आएका छन्। मजदुरीका लागि भारत जाँदा धनगढी बसपार्कका होटलमा बसको टिकट खरिद गर्ने उनीहरु भारतीय भूमिमा पटक–पटक दुःख पाउदै आएका छन्।
तर आवागमनमा हुने समस्या र नेपालीकै संग्लनतामा भाडामा हुने मनोमानी रोक्ने प्रयास भएको छैन। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले कसैको पनि गुनासो नआएकाले कारबाही गर्न समस्या भएको बताए। तर भारतीय भूमिमा नेपालीले दुःख पाएको बारेमा भारतीय सुरक्षा निकायसँग छलफल गर्न उनले बताए।