सुदूर नेपाललाई विश्वसँग जोड्दै

अझै भएन कञ्चनपुरको मजगाउँ विमानस्थल निर्माणको सम्झौता

२०७८ असोज २२, ०६:४४ कमल सावद

धनगढीः कञ्चनपुरको मजगाउँ विमानस्थल निर्माणका लागि गत वर्षको फागुन ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, सुदूरपश्चिम सरकार, भीमदत्त र दोधाराचाँदनी नगरपालिकाबीच सम्झौता भयो।

सम्झौतामा संघीय पर्यटन मन्त्रालयको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी हुने उल्लेख छ। नागरिक उड्यन प्राधिकरणमार्फत विमानस्थल निर्माण हुने भनिएको छ। तर विमानस्थल निर्माणका लागि अझै ठेक्का सम्झौता नभएको नागरिक उड्यन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले बताए। उनले भने, ‘ठेक्काको काम भएको हो। तर बजेट नभएकाले सम्झौता भएकोे छैन। मन्त्री आएपछि बजेट आउछ। ठेक्का हुन्छ।’ स्थानीय तह, प्रदेश सरकार र सघीय सरकारको त्रिपक्षिय लगानीमा निर्माण हुने विमानस्थलको नागरिक उड्यन प्राधिकरणले निर्माणको ठेक्का सम्झौता गर्नुपर्ने हो।

तर संघीय पर्यटन मन्त्री नभएकाले ठेक्का आह्वान भए पनि निर्माणको सम्झौताको काम रोकिएको हो। विमानस्थल निर्माणको ठेक्का प्रक्रियाका सबै काम पूरा भएका छन्। तर निर्माण कम्पनी र नागरिक उड्यन प्राधिकरणबीच सम्झौता गर्न बाँकी रहेको हो। स्थानीय तह, प्रदेश सरकार र संघीय पर्यटन मन्त्रालयले १२ करोड ८५ लाख विमानस्थल निर्माणका लागि जम्मा गरेका कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले बताए। उनले भने, ‘रकम जम्मा गरेका छौ। ठेक्का भयो भन्ने सुनिएको छ। तर अधिकारीक आएको छैन।’

एक हजार २ सय मिटरको विमानस्थलका धावनमार्गलाई एक हजार ६ सय ५ मिटरमा विस्तार गर्ने त्रिपक्षिय सम्झौता छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द अवस्थामा रहेका देशका विभिन्न विमानस्थल पुनःनिर्माण गर्दै आएको छ। सोही योजनाअनुसार मजगाउँ विमानस्थल निर्माणका लागि समेत बोलपत्र आह्वान गरिएको थियो। प्राधिकरणका इन्जिनियर थापाले ठेक्काको सबै प्रक्रिया पूरा भएको बताए। ‘सबै काम भएको हो। केएस–कान्छाराम कन्ट्रक्सनले ठेक्का पाएको भनिएको छ। तर रकमको बारेमा जानकारी भएन्,’ उनले दिनेशखबरसँग भने।

द्धन्द्धकालमा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको मजगाउँ विमानस्थल लामो समयदेखि गौचरमा परिणत छ। विमानस्थलका पुराना संरचनाहरु भत्किएका छन्। अहिले धावनमार्गलाई तारबार गरिएको छ। विमानस्थल सञ्चालनमा आए पर्यटकसँगै भारत तथा नेपालका व्यापारीहरुलाई सहज हुने दोधाराचाँदी नगरपालिकाका नगर प्रमुख बीरबहादुर सुनारले बताए। उनले भने, ‘महाकालीमा चार लेनको पुल निर्माण हुँदैछ। सुख्खा बन्दरगाहा पनि बन्दै छ। विमानस्थल निर्माणको काम पूरा भए, पर्यटकसँग व्यापारीहरुलाई सहज हुने छ।’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस