सुनको मूल्यमा वृद्धि
काठमाडौँ: दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० सयले बढेको छ। छापावाल सुन बुधबार प्रतितोला ८९ हजार ९०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४०० तोकिएको छ। त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला ८९ हजार ९५० पुगेको छ। बुधबार प्रतितोला रु ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो।
महासङ्घका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला १० ले बढेर एक हजार १७० कायम भएको छ। चाँदी बुधबार प्रतितोला एक हजार १६० मा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।