सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाका क्षेत्रमा रिक्सा चालकबाट गैरकानुनी रुपमा रकम असुली

२०७८ असोज २०, ०६:४० कमल सावद

धनगढीः स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६० मा सवारी पार्किङको व्यवस्थापन तथा कर संकलनको अधिकार स्थानीय तहमा छ। तर कञ्चनपुरको पुनर्वास नगरपालिकाको उदासिनताका कारण गौरीफन्टा सीमा क्षेत्रमा पार्किङको नाममा गैरकानूनी रुपमा शुल्क असुली हुँदै आएको छ। 

जिल्लाको डोकेबजार व्यवस्थापन समितिले गैरकानूनी रुपमा पाकिङ शुल्क लिदै आएको विद्युतीय रिक्सा व्यवस्थापन समिति कैलालीका अध्यक्ष मिनराज जोशीले बताए। उनले भने, ‘सीमामा हामीलाई पार्किङ चाहिएको थियो। उहाँहरुसँग छलफल गरेका थियौ। मन्दिरको जमिनमा प्राकिङ गर्नु सहमति भयो। लकडाउन पहिले सहमति भएको हो। अहिले रिक्सा चलेपछि उहाँहरुले पैसा माग्नु भयो।’

त्रिनगर—गौरीफन्टा सीमा क्षेत्रमा रिक्सा चालकबाट समेत गैरकानुनी रुपमा असुली भइरहेको खुलासा भएको छ। डोकेबजार व्यवस्थापन समिति र रिक्सा समितिको दोहोरो मारमा परेको रिक्सा चालकले गुनासो गरेका हुन्। दुवै समितिले गैरकानूनी रुपमा पार्किङ शुल्क लिदै आएको उनीहरुले बताएका छन्। 

नगर क्षेत्रको पार्किङ व्यवस्थापनको अधिकार स्थानीय तहमा भएपनि बजार व्यवस्थापन समितिले गैरकानूनी रुपमा रकम असुली गर्न पाइदैन। तर सीमा क्षेत्रमा रहेको मन्दिरको मर्मत तथा घेरबारका लागि रकम आवश्यक हुने भन्दै डोकेबजार व्यवस्थापन समितिले रिक्साहरुबाट पार्किङ शुल्क प्रत्येक दिन माग्दै आएको छ।  

विद्युतीय रिक्सा व्यवस्थापन समिति र डोकेबजार व्यवस्थापन समितिले एक रिक्साबाट १०/१० रुपैयाँका दरले दैनिक रकम असुली गर्दै आएका छन्। मन्दिरको मर्मत तथा घेरबारको लागि भन्दै डोकेबजार व्यवस्थापन समितिले विद्युतीय रिक्साबाट दैनिक १० रुपैयाँका दरले रकम असुली गर्दै आएको हो भने समितिले भैपरी आउने समस्यामा सहयोग गर्ने भन्दै रकम असुल गर्दै आएको हो। 

दैनिक शुल्क उठाउदै आएको बताउँदै डोकेबजार व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थापाले भने, ‘हामीले मन्दिरको घेरबारका लागि दान जस्तो मागेका हौ। कानूनमा छैन तर उहाँहरुले दिँदै आएका छन्। उक्त रकम मन्दिरको मर्मतमा खर्च गर्छाै।’

सडकमा रिक्सा पाकिङ गर्न ट्राफिक प्रहरी नदिने र पार्किङ स्थलमा बजार व्यवस्थापन समितिले नदिने चालकहरुको गुनासो छ। गौरीफन्टा सीमा क्षेत्रबाट धनगढी तथा अन्य क्षेत्रमा यात्रु ओर्साने विद्युतीय रिक्सा चालकलाई बजार व्यवस्थापन समितिले पटकपटक अभद्र व्यवहारसमेत गर्दै आएको गुनासो समेत गरिएको छ।  रातिको समयमा बढी सास्ती हुँदै आएको उनीहरुको बताएका हुन्।

डोकेबजार व्यवस्थापन समितिले सङ्कलन गरेको रकमको कुनै हिसाब नगरपालिकासँग छैन। पाकिङ व्यवस्थापनको कानूनी अधिकार भएको पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवन थापाले विद्युतीय रिक्साले शुल्क असुली गर्दै आएको बारेमा जानकारी नभएको बताए। उनले भने, ‘उहाँहरुले हामीलाई एक रुपैयाँ दिएका छैनन्। रिक्सा पनि दर्ता गराएका छैनन्।’

डोकेबजार व्यवस्थापन समितिको खातामा मंगलबार मात्र २५ हजार जम्मा भएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस